तेमाल- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार काभ्रेको तेमाल गाउँपालिका समक्ष ५ सुत्रिय मागसहितको ज्ञापनपत्र बुझाउँदै पालिकाको ध्यानाकर्षण गराएको छ ।

तेमाल गाउँ कमिटीको अध्यक्ष दुधराज लामाको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलिले पालिकाको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल समक्ष उक्त  ज्ञापनपत्र पेश गर्दै माग पूरा गराउन ध्यानाकर्षण गराएको हो ।

पालिका कार्यालयमा अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङको उपस्थिति नरहेकोले प्रमुख प्रशासकीय अधिकृतमार्फत स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु तेमाल गाउँपालिका कमिटीका उपाध्यक्ष दिपक बडालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई चाँडो भन्दा चाँडो कोभिड–१९ (कोरोना भाइरस) को खोप व्यवस्था गर्नुपर्ने,विद्यार्थी आन्दोलनबाट प्राप्त ४५ प्रतिशत छुट तेमालको बाटोमा गुड्ने सार्बजनिक यातायातको सवारी साधनमा पुर्ण रूपमा लागू गर्नुपर्ने,बढिभाडा असुलिरहेको हुँदा यसको प्रभावकारी अनुगमन गरि तत्काल नियन्त्रण गर्नुपर्ने,तेमाल गाउँपालिका भित्र रहेको दस वटा मावि तहको विद्यालयमा अध्यनरत विद्यार्थी छात्राहरुको लागि गुणस्तरीय सेनेटरी प्याड निशुल्क व्यवस्था गर्नुपर्ने लगायतका माग विद्यार्थी संगठनले वुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसका साथै विद्याथीहरुको बौद्धिक क्षमता अभिवृद्धि शैक्षिक स्तर उन्नति एवम् सर्वांगीन क्षमता विकासको लागि सबै विद्यालयमा पुस्तकालयको स्थापना गर्नुपर्ने,सार्बजनिक यातायातमा वृद्ध आमा बुबाको वृद्ध कार्ड छुट हुनुपर्ने माग पनि विद्यार्थीहरुले उठाएका छन् ।

विद्यार्थीहरुले उठाएका जायज मागलाई तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएको र बेवास्ता गरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको एमाले तेमाल गाउँपालिका कमिटीका सहसचिव सुरेन्द्र तामाङले जनाउनुभयो ।

ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस !