काठमाडौं–सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच संघीय, प्रदेश र स्थानीय तह निर्वाचनबारे बिहीबार भेटवार्ता भएको छ ।

बिहीबार अपरान्हका ४ बजेका लागि तय गरिएको सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित गरेपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच साँझ बालुवाटारमा भेटवार्ता भएको हो ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार संयन्त्र बैठकको पूर्व तयारीका लागि पनि तीन नेताबीच छलफल भएको हो ।

स्थानीय तह,संघीय र प्रदेशको निर्वाचन गर्ने समय बारे सत्तारुढ दलहरुबीच कुरा फरफरक आएपछि नेताहरु छलफलमा जुटेका हुन् । प्रचण्डले स्थानीय तहको निर्वाचन अघि संघ र प्रदेशको निर्वाचन प्रस्ताव अघि सारेको सार्वजनिक भइसकेको छ ।

स्थानीय तहको निर्वाचन ६ महिनापछि सार्न सकिने उहाँको प्रस्ताव छ तर जनता समाजवादी पार्टीले यसप्रति आपत्ति जनाईरहेको छ ।

तीन शीर्ष नेताहरुबीचको छलफलपछि शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

photo : prasashan.com

प्रतिक्रिया दिनुहोस !