माघको दोस्रो हप्ताबाट ढोलक/मादलको प्रशिक्षण सञ्चालन हुने

काठमाडौं–प्रदेश १ पछि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशमा पनि प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । यस प्रदेशमा प्रचलनमा रहेको बजाहरुलाई केन्द्रित गरी प्रशिक्षण कार्यक्रम गरिएको हो ।

प्रशिक्षणको दौरान कम्तीमा १३५ जना बढी युवाले तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजा, लिम्बु जातिको च्याब्रुङ,राई जातिको ढोलबारे प्रशिक्षणबाट लाभलिने अवसर पाएका छन् ।

टुङ्ना डम्फुमा छेवाङ तेन्जिङ लामा,बाँसुरीमा गोपालनाथ घतानी,च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमादीपेश राई,धिमेबारे नरेश प्रजापति, सारङ्गीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले दिनु भएको प्रशिक्षणलाई प्रभावकारी बनाउन लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापतिखलःसँग आवश्यक परामर्श सहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरान सिकेको आ–आफ्ना आकर्षक प्रस्तुतिहरु प्रस्तुत गर्नु भएको थियो । प्रस्तुति हेरिसकेपछि साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न कारणले नेपालको लोकसंस्कृतिको दस्तावेज तयार गर्न राज्यपक्ष पछि परेको बताउनु भयो । उहाँले देश जतिकै संस्कृति महत्वपूर्ण हुनेचर्चा गर्दैै संस्कृति खरानी भए हामी पनि बाँकी नरहने बताउनुुभयो ।

त्यसै गरी संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले युवापुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचना प्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोकसंस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरता पाउनुपर्ने बताउनु भयो ।

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत विभाग प्रमुख प्राज्ञ अशोक राईले वरिष्ठ संगीत विज्ञहरुबाट सांगीतिक अन्र्तक्रिया तथा कार्यशालाको समन्वय गरी कार्यक्रम संचालन गरिएको तथा मौलिक लोकबाजालाई मूलधारको व्यवासायिक सङ्गीतसँग जोड्न,लोकसङ्गीतको स्वरलिपि तयार गरी,त्यस आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादकहरु तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षणहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै माघको दोस्रो हप्ताबाट सर्लाहीको हरिवनमा ढोलक तथा मादलको प्रशिक्षण सञ्चालन हुने जानकारी गराउनुभयो ।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसगको धार्मिक,साँस्कृतिक सम्बन्धबारे जानकारी दिने,बाजा बन्ने बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पस्चिमी संगीत पारम्भिक ज्ञान, मेट्रोनममा बाद्यबादन अभ्यास सुरुवात, बाजा अनुसारको संगीत संयोजन गरि त्यसैअनुसार अभ्यास, सुरतालबोल स्वरलिपिमा लेखन अभ्यास, संगीत संयोजनबारे जानकारी, सामुहिक बादन विधि तथा अभ्यास, व्यावसायिक बाद्यबादक बन्न हुन पर्ने पुर्बधार ज्ञान, अन्य बाजाहरुसँग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शन,आधुनिक प्रविधि तथा रेकर्डिङ लगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।

पुष १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्ता सात वटा लोकबाजाबारे सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमको राष्ट्रिय नाचघर जमलमा पुष ३० गते एक औपचारिक कार्यक्रम गरी विधिवत रुपमा समापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !