काभ्रे–जिल्लाको पनौती नगरपालिका ७ मा रहेको त्रिवेणीघाटमा शनिबारबाट हरेक १२ वर्षमा लाग्ने मकर मेला सुरु भएको छ । यहाँ स्नान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ भक्तजनहरु पुग्ने गरेका छन् ।
कोभिड–१९ संक्रमण नफैलियोस् भनि स्थानीय सरकारले कडाईका साथ स्नान गर्ने व्यवस्था गरेको नगर प्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो ।
‘अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गराईएको छ,भिडभाड नहोस् भनि वानवेमार्फत मात्रै प्रवेश गराएका छौं ।’,नगरप्रमुख न्यौपानेले भन्नुभयो–‘एक पटकमा २५ जनालाई मात्रै स्नान गर्न पठाउने व्यवस्था गरिएको छ । भिडभाड होला भन्नेमा हामी सचेत छौं,त्यसैले यो पटक स्थानीय विशेष मेला हुने देखिन्छ ।’
यस वर्ष त्रिवेणीघाटमा १२ मकर मेला लाग्ने भएपछि ६ महिना अघिदेखि नै तयारी गरिएको थियो,भौतिक संरचना निर्माण,प्रचारप्रसारमा नगरले विशेष जोड दिएको थियो तर एक्कासी कोरोना भाईरस तेस्रो लहर (ओमिक्रोन भेरियन्ट)को संक्रमण देशभर फैलिन थालेपछि स्थानीय सरकारले सचेतना अपनाएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समिति(डीसीएमसी) काभ्रेको बैठकले पनि २५ जनाभन्दा बढि भिडभाड नगराउने निर्णय गरेको थियो । त्यसैले एकपटकमा २५ जनालाई मात्रै स्नान गर्ने व्यवस्था गरेको नगरपालिकाले स्पष्ट पारेको छ ।
एक पटक २५ जनाले स्थान गर्दा पहिलो दिन शनिबार करिव ५ सयले मेला भरेका छन् । माघ १(मकर सङ्क्रान्ति)को दिन सुरु हुने यो मेला माघ महिनासम्म लाग्ने गर्छ ।
मकर मेलाको सूचना :
तस्वीर इकमान लामा र रामसुन्दर आचार्य