सन्दर्भ : १० औं काभ्रे जिल्ला अधिवेशन

काभ्रे-नेकपा एमालेको पुुष २३ गते शुक्रबार धुलिखेलमा हुने १० औं जिल्ला अधिवेशनमा तेमाल गाउँपालिकाबाट हजारौं जनता र्यालीमा सहभागी हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने अधिवेशनमा सहभागी हुन ९ वटै वडाका वडा कमिटी, काठमाडौं-प्रत्येक वडा तहका मञ्चका साथै तेमाल गाउँपालिका-काठमाडौं सम्पर्क मञ्च, स्थानीय जनवर्गीय संगठनमा आबद्ध कार्यकर्ताका साथै सर्वसाधारण समेत आउने भएका हुन् ।

एमाले तेमाल गाउँपालिका कमिटीका सहसचिव सुरेन्द्र तामाङका अनुसार तेमालका नेतादेखि कार्यकर्ता र सर्वसाधारण सम्म धुलिखेल अस्पताल चोकमा भेला भई र्याली सहित अधिवेशन उद्घाटन स्थल धुलिखेल रंगशालातर्फ प्रस्थान गर्ने तय भएको छ । उहाँले तेमाल, तेमालबाट अध्ययन तथा रोजगारीको शिलशिलामा धुलिखेल, बनेपा, काठमाडौं उपत्यकामा रहेका सबैलाई अधिवेशन स्थल जानुपूर्व धुलिखेल अस्पताल चोकमा भेला हुन अनुरोध गर्नुभयो ।

सहसचिव तामाङका अनुसार तेमालका मात्रै २ हजार बढि एमाले कार्यकर्ता र सर्वसाधारण अधिवेशन र्यालीमा सहभागी हुनेछन् ।

एमाले काभ्रेले जिल्ला अधिवेशन आमसभाकै रुपमा गर्न लागेपछि तेमाले एमालेहरुमा पनि उत्साह देखिएको हो ।

“दक्षिण पन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौं,जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गरौं”भन्ने मुल नाराका साथ हुन लागेको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन मात्र गर्ने नभई काभ्रेको विकासको खाका समेत कोर्ने उद्घोष एमाले काभ्रेले गरेको छ ।

जिल्लाको विकास निर्माणका लागि एमाले प्रति जनविश्वास भएकोले नै जिल्लाभरबाट जनता अधिवेशनमा उर्लिने एमाले जिल्ला अधिवेशन जनपरिचालन उपसमितिका संयोजक कञ्चन अधिकारीले दावी गर्नुभयो ।

अधिवेशनको तयारी सकिएको र शुक्रबार मध्यान्ह १२ बजेपछि उद्घाटन हुने तय भएको जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक इन्द्र बहादुर तामाङले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

३० हजार भन्दा बढी जनता सहभागी हुने अधिवेशनको बन्दसत्र भने शनिबार हुने प्रचार उपसमिति संयोजक तामाङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस !