काठमाडौँ–नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्मजयन्ती प्रज्ञा भवन परिसरस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार(केके)कर्माचार्य,नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य/काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले कविशिरोमणि पौड्यालको प्रतिमामा माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धा प्रकट गर्नुभएको थियो ।

शुक्रबार आयोजित कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली कविताको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण र विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले कविशिरोमणि प्रकृति र मानवतावादी कवि भएको विचार व्यक्त गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले नेपाली कविता फाँटमा विशिष्ट योगदान दिनुहुने कविशिरोमणिको योगदान शदियौँ चिरस्मरणीय रहिरहने विचार व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कविशिरोमणि पौड्यालको योगदानलाई जीवन्त राख्नका लागि परिवारजन तथा अन्यत्रबाट पनि आवश्यक कार्य भइरहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य पद्य÷काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । सो क्रममा उहाँले कविशिरोमणि पौड्लयालका कवितामा आध्यात्मिक मानवतावाद पाइने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कवि लक्ष्मी गौतमले कविशिरोमणिद्वारा रचित ‘तरुण तपसी’ र कवि रञ्जना आत्रेयले ‘चरीको विलाप’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
विं.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो ।

उनका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति),तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा ९नाटक०, गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस !