प्रदेश मन्त्रीपरिषद सदस्य ८ बाट १४ पुग्यो
धुलिखेल–काभ्रेबाट बागमती प्रदेश सभा सदस्य रहेका बसुन्धरा हुमागाईं र रत्न ढकालले प्रदेशको विभागिय मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मंगलबार हुमागाईंले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र ढकालले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व लिने जिम्मेवारी पाउनुभएको हो ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्री परिषद विस्तार गर्ने क्रममा मन्त्रीमा नियुक्त गर्नुभएका हुमागाईं र ढकालले मंगलबार नै सपथ लिनुभएको छ ।
ढकाल २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा बाम गठबन्धनको तर्फबाट काभ्रे क्षेत्र नं.१(१) बाट र हुमागाई क्षेत्र नं.२(१) बाट निर्वाचित हुनुभएको थियो ।
ढकाल माओवादी केन्द्र र हुमागाईं एकिकृत समाजवादीका युवा नेता हुनुहुन्छ । ढकाल माओवादी केन्द्रको संघीय सम्मेलन आयोजक कमिटिका सदस्य हुनुहुन्छ भने हुमागाईं एमालेबाट चोइटिएर बनेको समाजवादी पार्टीको काभ्रे जिल्ला उपाध्यक्ष तथा पार्टीको बागमती प्रदेश संसदीय दलको सचेतक समेत हुनुहुन्छ ।
विद्यार्थी आन्दोलनमा निरन्तर रुपमा सक्रिय ढकाल अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
प्रदेश मन्त्रीपरिषद सदस्य १४ पुग्यो
यो पटक पार्टीको महाधिवेशन चरिहेका कारण कांग्रेस बाहेका गठबन्धन पार्टीलाई मात्रै समेटेर गरिएको मन्त्रीपरिषद विस्तारपछि वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढेर १४ पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।
एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी,ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारी लिनुभएको छ । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बन्नुभएको छ ।