कम्तीमा २ सयलाई उद्यमी बनाउने योजना
काभ्रे-चौंरीदेउराली गाउँपालिकाका सयौंलाई उद्यमी बनाउने अभियान दोस्रो वर्ष पनि जारी राखेको छ । गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्गर्तत गाउँपालिकाले यस्तो अभियान थालनी गरेको जनाएको छ ।
स्थानीय साधनस्रोतको उपयोग गरी उद्यमी बनाउने अभियान अन्तर्गत यो पटक वडा नं. ९ मा अभिमुखी करण कार्यक्रम सम्पन्न गरिसकेको गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जानकारी दिनुभयो । गाउँपालिकाले शिप सिकाएर जनतालाई उद्यमी बनाउने अभियानमा आफूहरु लागिपरेको उहाँको भनाई छ।
स्थानीय साधन स्रोतबाटै आयअर्जन गरेर स्वरोजगार र उद्यमी बनाएर आर्थिक क्रान्तिमा आफूहरु लागिपर्ने बताउँदै उपाध्यक्ष चौंलागाईंले सिकेको शिप व्यवबहारमा लागु गर्न अनुरोध गर्नुभयो । कम्तीमा २ सय जनालाई उद्यमी बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले स्थानीय साधनस्रोत प्रयोग गरेरै उद्यमी बनाउने योजना अनुरुप गाउँपालिकाले यस्तो योजना ल्याएको प्रष्ट पार्नुभयो । उहाँले स्थानीयले आफू अनुकुलतामा आफ्नो चाहना र माग अनुसारको बस्तु उत्पादनमा लाग्न सकिने बताउनुभयो ।
वडा अध्यक्ष रामबहादुर लामाले आर्थिक रुपमा आत्मनिर्भर बनाउन आफ्नो वडाका किसानहरुलाई यस्तो कार्यक्रममले निक्कै टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
यो योजना अन्तर्गत स्थानीयलाई ३ वर्षभित्रमा उद्यमी बनाउने लक्ष्य रहेको वरिष्ठ उद्यम बिकास सहजकर्ता बीरबहादुर सार्कीले जानकारी दिनुभयो।
यो कार्यक्रम गाउँपालिकाको वडा नं. १, २, ४ र ९ मा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । अर्को बर्षबाट बाँकी वडामा पनि यो कार्यक्रम सन्चालन हुनेछ ।
गतबर्ष गाउँपालिकाले वडा नं. ५ र ३ बाट शुरु गरेको गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जानकारी दिनुभयो । शुरु गरेको ती २ वडामा यो वर्ष स्तरबृद्धिको गर्ने कार्यक्रम रहेको उपाध्यक्ष चौंलागाईंले बताउनुभयो । गतवर्ष वडा नं. ५ मा डलकुशन, अगरबत्ती र बाख्रापालनको लागि २०/२० जना स्थानीय किसान छनौटमा परेका थिए । त्यस्तै वडा नं. ३ मा बाख्रापालन र वंगुर पालन कार्यक्रम सन्चालन भइरहेको छ । यहाँ पनि सोही संख्यामा स्थानीय किसान छनौटमा परेका छन् ।