
काभ्रे–बागमती प्रदेशका पूर्व कृषि सहकारी तथा भुमि व्यवस्थामन्त्री तथा प्रदेश सांसद चन्द्र लामाले पाँच बर्षमा सबै अपेक्षा पूरा नभएपनि इमान्दारिताका साथ सक्दो काम भइरहेको बताउनुभयो । विहीवार नमोबुद्ध नगरपालिकाको आठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यो वा त्यो पार्टी वा कुनै पनि वहानामा विकास निर्माणमा विभेद नगरी सक्दो भुमिका खेल्दै आएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘बुद्धि विवेक र क्षमताले भ्याएसम्म विभेद नगरी वडा वडासम्म विकास गर्ने गरी काम गर्न पछि परेको छैन ।’ उहाँले जनताको एक एक भोटको सम्मान मिल्नेगरी विकासको अभियान थालेको बताउनुभयो ।
आफ्नै पहलमा प्रदेशदेखि संघ सम्मको करोडौंको योजना ल्याउँदा अहिलेको सरकारले त्यसलाई विस्थापन गर्ने काम गरेको भन्दै उहाँले यसमा वर्तमान सत्ता गठबन्धन तथा संघीय सांसद गंगाबहादुर दोङ(वमध्वज) लाई जिम्मेवार र जवाफदेही बन्न चुनौती दिनुभयो ।
विकासको पक्षमा सबै जिम्मेवार बन्न जरुरी रहेको धारणा व्यक्त गर्दै सांसद लामाले वडा,पालिकाका जनप्रतिनिधिदेखि सांसदसम्मलाई चुनौती दिनुभएको हो । विकासका लागि सवै एक ठाउँमा हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले विकास विरोधी भावनाको विजारोपण कसैले कसैमा गर्न नहुनेमा जोड दिनुभयो ।
पूर्वमन्त्री चन्द्र लामाले आफ्नै गृहनगर नमोबुद्धलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । चुनाव अगाडीसम्म विपी राजमार्ग बाहेक कतै कालोपत्रे नभएको अवस्थाको अहिले अन्त्य भएको उहाँको भनाई छ ।
शंखु-दाहालटारसम्म जोड्ने सकड,दाप्चा सकडदेखि वडा वडासम्मको अन्य बाटोहरुमा समेत आफ्नो ध्यान गएको लामाले बताउनुभयो । सांसद लामाले आफ्नो निर्वाचन क्षेत्रका थुप्रै सडकहरुमा अहिले कालोपत्रको काम धमाधम भइरहेको जनाउनुभयो । सडक,कृषि,खेलकुद,भवन निर्माण लगायतका क्षेत्रको विकास अहिले उत्साहजनक रुपमा सुरुवात भएको,कतै सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो ।
नमोबुद्धलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न आफ्नो पहल जारी रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले दाप्चा नेपानेदेखि गाउँगाउँमा बुद्धपार्कहरु बनाउने काममा स्थानीय सरकार र आफ्नो सहकार्य हुदै आएको जानकारी दिनुभयो ।
‘नमोबुद्धलाई विश्व सम्पदा सूचीमा पार्न प्रदेशबाट पहल हुदै आएको छ,गत वर्ष काभ्रेभरमै नमोबुद्ध र पनौती उत्कृष्ठ १०० वटा घुम्ने स्थलमध्येमा पर्नु पनि सुखद पक्ष हो ।’–उहाँले भन्नुभयो ।