
- नमोबुद्ध संवाददाता
नमोबुद्ध–काभ्रेको नमोबुद्ध नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा अघि बढाउने भएको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा व्यवसायिकरुपमा मौरीपालनलाई प्राथमिकताका राख्दै पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
यहाँको वडा नं. ३ र ७ का किसानहरुले लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आइरहेकोमा त्यसलाई थप प्रोत्साहित गर्न र मौरीपालनलाई थप व्यवसायिक बनाउन अब पकेट क्षेत्रको रुपमा विकास गर्दै लगिने नगरप्रमुख तिमल्सिनाको भनाई छ । उहाँका अनुसार व्यवसायिक मौरीपालन कार्यक्रमलाई सबै वडामा विस्तार गर्दै लैजाने योजना बनाएको छ ।
हालै प्रदेशसभा सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा भएको मौरीको घार कार्यक्रममा श्री टार साना किसान महिला सहकारी संस्थामार्फत गोलासहितको ८२ थान मौरीको घार वितरण वितरण गरिएको थियो । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा पनि किसानहरुलाई गोलासहितको मौरीघार वितरण गरेको थियो ।
नगरपालिकाले मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गरेर अन्य जिल्लामा पनि मौरीको गोला निर्यात गर्ने लक्ष्य राखेको छ । अहिले बाहिरी जिल्लाबाट गोला ल्याएर किसानलाई वितरण गर्नुपर्ने अवस्था रहेको कृषि विकास शाखा प्रमुख रेशम दाहालले जानकारी दिनुभयो । यो बर्ष पकेट क्षेत्रको रुपमा विकास गर्दै ३ सय घार मौरी वितरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।