• नमोबुद्ध संवाददाता,

काभ्रे–नेकपा एमालेको तेमाल गाउँपालिका अधिवेशन निर्धारित मिति अनुसार मंगलबार सम्पन्न गरेको छ । ३ दिन अघि सबै ९ वटै वडाको अधिवेशनपश्चात भएको पालिका अधिवेशनले इन्द्रमान तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । निवर्तमान अध्यक्ष घनश्याम लामा(गणेश)ले पुनः दोहोरिने इच्छा जनाएपछि नेतृत्वमा सर्वसम्मत बनाउन भने निकै कसरत गर्नुपरेको थियो ।

अधिवेशनले सिंग दोङलाई उपाध्यक्षमा र च्याङबा तामाङलाई सचिवको जिम्मेवारी दिएको छ । उपसचिवमा सुरेन्द्र तामाङ र सुकमान लामा निर्वाचित भएका छन् । एउटा वडाबाट कम्तीमा ५ जना पालिका कमिटीको सदस्यमा छानिएका छन् ।

‘एमालेलाई कांग्रेस चुनौती’

अधिवेशनलाई सम्बोधन गरेका प्रमुख अतिथि संविधानसभा सदस्य,पूर्व राज्यमन्त्री रेशम लामा,पार्टीका प्रदेश कमिटि सदस्य योगेन्द्र लामा,पार्टीका जिल्ला उपसचिव इन्द्र तामाङ,जिल्ला सदस्य नारायण पाण्डे,पार्टीका तेमाल गाउँपालिका इञ्चार्ज एवं अनेरास्ववियूका केन्द्रिय कोषध्यक्ष जेनिश लामा,निवर्तमान पालिका अध्यक्ष घनश्याम लामा,युवा संघका केन्द्रिय सदस्य सत्यमान लामा लगायतको भनाईको एउटै आसय तेमालमा कांग्रेस ठूलो चुनौती भन्ने थियो ।

आसन्न स्थानीय तहको निर्वाचन जित्नेगरी अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिइएको थियो । यसको प्रत्यक्ष जिम्मेवारी अहिले निर्वाचित टिमको काँधमा रहेको नेताहरुको धारणा थियो । नेताहरुको जोड थियो–‘तेमालमा कांग्रेसलाई पराजित गर्न सक्नुपर्छ,यसमा सबैको ध्यान जान आवश्यक छ ।’ तर कांग्रेसलाई कसरी पराजित गर्ने ? तेमालका जनताको मन जित्न या तेमालको विकासमा के एजेन्डा हुनुसक्छ भन्ने बारेमा भने नेताहरुले खासै बोलेनन् । स्थानीय तहको अघिल्लो चुनावमा तेमालका २ वटा वडा मात्रै जितेको एमालेले कांग्रेसलाई चुनौतीको रुपमा लिएको हो ।

नव निर्वाचित अध्यक्ष इन्द्रमान तामाङले पार्टीको संगठन बलियो बनाउनु आफ्नो प्राथमिकता रहने बताउनुभयो । तेमालका जनताको मन जित्दै पार्टीलाई थप उचाईमा पुर्याउन आफ्नो पहलकदमी रहने उहाँको प्रतिवद्धता छ । निवर्तमान अध्यक्ष लामाले वर्तमान नेतृत्वलाई उदारताका साथ सहयोग गर्ने वचन दिनुभयो ।

तेमालमा एमालेले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेर कार्यकर्तामा उत्साह जगाउनुका साथै पार्टी मजबुतीको सन्देश गएको पार्टीका तेमाल गाउँपालिका इञ्चार्ज एवं युवा नेता जेनिश लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !