
- नमोबुद्ध संवाददाता,
काठमाडौं–कुनै पनि समदायले आफ्ना मौलिक भाषा,संस्कृतिको प्रवद्र्धनमा विविध बाटोहरु अपनाएका हुन्छन् । यसका लागि गीत संगीतको पाटो शसक्त माध्यम नहुने कुरै भएन । अझ यसमा परिवर्तनको संवाहक युवा पुस्ताको ध्यान तान्न सक्नु निकै चुनौतीको विषय रहन्छ ।
यिनै सन्दर्भमा युवा जमातको ध्यान खिच्दै गीत संगीतको एउटा विधा र्याप शैली मार्फत ६० को दशकमै स्थापीत नाम हो उत्तर लामा उर्फ ‘संगुल’ । तामाङ गीतसंगीतमा पहिलो पटक र्याप गायन मार्फत आफ्ना उपनाम ‘संगुल’ झैं भुईंचालो ल्याउन सफल हुनुभयो तेमालका संगुल । ‘तेमाल गाङ’ एल्बममा समाहित र्याप सहितको गीत ‘तेमाल तेमाल…..’ नेपालदेखि भारतसम्म चर्चित बन्यो ।
एल्बम सर्वाधिक विक्रि भयो,गीतले तामाङ सभ्यताको आदिम थलो तेमालको पहिचान थप उचाईमा पुर्याउन भुमिका खेल्यो,तिनै एल्बममा संग्रहित ‘म्हेन्दोला माला’ दोहोरी र आधुनिक ‘ए निजी थारेङ’ लगायतका तामाङ गीत बजारमा आएलगत्तै तामाङ गीतसंगीत क्षेत्रमा फरक शैलीमार्फत पनि भाषिक र सांस्कृतिक जागरणका कुराहरु सञ्चारित गराउन सकिन्छ भन्ने उदाहरण बन्यो ।
‘ह्याङला ल्होछार’ गीतले पनि तामाङको मौलिक पर्व पुनस्थापित गराउन उर्जा प्रवाह गर्यो । त्यसबाहेक ‘तेमाल्ला च्याङ्बा’,‘माइक्रोबस’,चलेका तामाङ गीतका रिमिक्स भर्सनका साथै गाइजात्राबारेमा समेत गरी आधा दर्जन बढि एल्बमहरु बजार छोड्दै बैदेशिक रोजगारीमा हराएका संगुल नेपाल फर्किदा यो क्षेत्रमा भित्रिएको प्रविधिका कारण माहौल नै मोडिदै थियो ।
तिनै संगुलको बाटोमा धेरै युवा आइसकेका थिए,उनिहरुले संगुलले जत्ति साधना त गरेका थिएनन्,विना संघर्ष गीत संगीतको बजारमा आउने पहुँचकोचाहिं बिस्तार हुदै थियो । थुप्रैले संगुललाई गुरु नै माने,यो बिचमा संगुलले पनि एकाध गीतहरु ल्याए तर भिन्न रणनीति नअपनाएका कारण कता कता हराएको भान दर्शकस्रोताले गर्न थालेका थिए ।
उद्घोषसाथ कम्ब्याक
आजको समाजिक सञ्जालको विकास,प्रयोग र रियालिटि शोहरुका कारण पुराना झन विस्थापित हुदै जाने,नयाँहरु भाषा संस्कृतिप्रति गैरजिम्मेवार अनि सस्तो लोकप्रियतामै मख्ख पर्ने र अनावश्यक भाइरलबाटै सेलिब्रेटि बन्ने दम्भमै अलमलिन थालेपछि आफैंले थालेको बाटो सफा पार्ने उद्घोषसाथ हालै संगुलको कम्ब्याक भएको छ ।
‘ब्याक टु ब्याक’ बोलको गीतमार्फ संगुलको त्यो उद्घोष पछिल्लो समय गीत संगीतको दुनियाँमा आएकाहरुका लागि सबक बन्ने अपेक्षा गरिएको छ । तामाङ र्याप गीत संगीतको बजारमा स्वच्छ प्रतिस्पर्धाको भावनाको विकास गर्न,अपाच्य शब्दहरुको अन्धाधुन्ध प्रयोग रोकी समुदायप्रति जिम्मेवार बनाउने सन्देश सहित संगुलको कम्ब्याक भएको हो ‘ब्याक टु ब्याक’ मार्फत ।
जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक यो गीत ब्राण्डेड लामा र स्वयं उत्तर संगुलको शब्द रचना हो । दिपेश प्रधानको एरेन्ज,बज्र ङेसुरको सम्पादन र छायांकन गरेको भिडियोलाई नायक अमिर दोङले निर्देशन गर्नुभएको छ ।
गायिका शसिकला मोक्तानदेखी नायक सन्दिप स्याङतान,टुल्साङ लामा,नायिका रोश्नी ब्लोन लागयतका तामाङ चलचित्र जगत सम्मका सशक्त कलाकारहरुको टिम सहित स्रोता दर्शक माझ आएका संगुलको यो उद्घोष सिंगो तामाङ समुदायमाथि नै जोडिएकोले सबैको साथ रहने विश्वास गरिएको छ ।
भिडियोसहित हेर्नुहोस् :