• नमोबुद्ध संवाददाता,

काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेरको स्थिति बन्दै गएको छ । कार्यतालिकाअनुसार स्थानीय,जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न हुन नसकेपछि महाधिवेशन मिति हेरफेरको स्थिति बनेको हो ।

गत साउन ३० गतेको केन्द्रीय कार्यसमिति बैठकले निर्धारण गरेको कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशनहरु हुनु सकेको छैन ।
मंसिर दोस्रो साताभित्र ७७ वटै जिल्लाको अधिवेशन र मंसिर मसान्तसम्म प्रदेशको अधिवेशन गर्ने गरी पार्टीभित्र अनौपचारिक छलफल चल्न थालेको र माघ भन्दा अघि महाधिवेशन हुने सम्भावना टर्दै गएको नेताहरुले बताएका छन् ।

पूर्व निर्धारित मिति मंसिर ९–१३ मा महाधिवेशन नहुने देखिएको एक नेताले बताए । अब मंसिर मसान्तसम्म प्रदेशसम्मको अधिवेशन सम्पन्न गर्ने गरी तयारी हुन सक्ने काँग्रेस स्रोतको भनाई छ ।

सभापति शेरबहादुर देउवानिकट नेताहरुका अनुसार छिट्टै पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्ने र बैठकमा रोकिएका अधिवेशनहरु छठ पर्वलगत्तै अगाडि बढाउनेगरी कार्यतालिका अघि बढाईनेछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थगित गरिएका अधिवेशनहरु तिहारपछि सुरु हुने जानकारी दिनुभयो ।

दसैँअगाडि विवादित १३ जिल्लाको वडा,पालिका र सबै हिमाली जिल्लाको अधिवेशन सक्ने तयारी गरेको कांग्रेसले ५५ जिल्लाको वडा,पालिका(२१ मध्ये १३ हिमाली जिल्ला)मा मात्र जिल्ला अधिवेशन सकाएको छ ।

सरकारको नेतृत्वमा रहेका कारण अधिवेशन तयारीमा नेताहरुले पर्याप्त समय दिन नसक्नु र मुख्यत : गुटगत विवादले कांग्रेस महाधिवेशन धकेलिदै गएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस !