- नमोबुद्ध संवाददाता,
काठमाडौं–नेपालको सबैभन्दा ठूलो दल नेकपा एमालेले यही कात्तिक ६ गते शनिबार देशैभरका ७ सय ५३ वटा स्थानीय तहका वडाहरुको वडा अधिवेशन गर्ने तयारी गरेको छ । एमालेको विधान महाधिवेशनले तय गरेको कार्यतालिका अनुसार मंसिर १० देखि १२ गतेसम्म बुटवलमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका अनुसार वडा तहको अधिवेशन हुन लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकसाथ सबै स्थानीय तहका वडाहरुको अधिवेशनको उद्घाटन गर्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार शनिबार बिहान ११ बजे औपचारिक रुपमा पार्टी अध्यक्ष ओलीले इन्टरनेटको पहुँचसँग जोडिएका देशभरका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने तयारी भएको हो ।
वडा अधिवेशनका लागि देशभरका वडाहरुमा एमालेको चहलपहल देखिएको छ । एमाले र एकिकृत माओवादी केन्द्रबिच एकतापश्चात नेकपा बनेपछि स्थानीय क्षेत्रमा पार्टीको संगठन निश्कृय थियो । पार्टी विभिाजनपछि एमालेले आफ्नो सांगठनिक संरचना बलियो बनाउने रणनीति लिएकोले पनि चहलपहल बढि देखिएको हो ।