• नमोबुद्ध संवाददाता,

काठमाडौं–प्रहरीको गोलीबाट रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले उक्त घटनाको आफैंले समेत अनुसन्धान शुरु गरेको जनाउँदै मंगलबार उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिन संयमता अपनाउन र वार्तामार्फत विवाद समाधन गर्नुपर्नेमा जोड दिएको छ ।

आयोगले मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको निशुल्क उपचार गराउन र वास्तविक घरवारविहीनलाई बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण गरेको हो ।

सोमबार बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको ज्यान गएको थियो । घटनामा सुकुम्बासी र प्रहरीतर्फ गरी ६० भन्दा धेरै घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस !