एकसाथ उद्घाटन !
नमोबुद्ध संवाददाता,
पुरानागाउँ– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १० को पक्की वडा कार्यालय र पुरानागाउँ स्वास्थ्यचौकीको भवन बनेको छ । नवनिर्मिति भवनको एकसाथ शुक्रबार नै उद्घाटन गरिएको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले दुबै कार्यालय भवनको उद्घाटन गर्नुभएको हो । नगरपालिकाले करिब ७५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरेको हो । दुई तल्ले पक्की भवनमा वडा कार्यालय सञ्चालन भएसँगै अब उक्त वडाका बासिन्दालाई वडाबाट पाउने सेवा लिन थप सहज हुने भएको छ । यस्तै करिब ३६ लाख रुपैयाँको लागतका पुरानागाउँ स्वास्थ्यचौकीको भवन निर्माण गरिएको हो । नमोबुद्ध नगरपालिकाबाट विनियोजित १० लाख रुपैयाँ र बाँकी रकम वडा कार्यालयमार्फत स्वास्थ्य चौकी निर्माण गरिएको छ ।
वडा कार्यालय भवनका लागि समाजसेवी रामकृष्ण श्रेष्ठले १० आना १ पैसा १ दाम जग्गा निःशुल्क उपलव्ध गराउनुभएको थियो । स्वास्थ्य चौकीका लागि भने स्वर्गीय अक्कलवहादुर तामाङ, इन्द्रपसाद घोरसाइने र सानुकान्छी तामाङले ४ आनाका दरले निःशुल्क जग्गा प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले निर्वाचनको समयमा जनतासामू गरेको प्रतिवद्धताअनुसार नै नगरको समग्र विकासका लागि आफूहरु लागिपरेको बताउनुभयो । ‘हाम्रो कार्यकालमा कति विकास निर्माणका कार्य भए त्यसको मुल्यांकन जनताले गर्नुहुनेछ’ नगर प्रमुख तिमल्सिनाले भन्नुभयो, ‘हामी एकतावद्धरुपमा नगरको विकासका लागि योजना निर्माण र कार्यान्वयनमा लागिपरेका छौं ।’ नगरका सबै वडामा अपांगमैत्री, वातावरणमैत्री र बालमैत्री वडा कार्यालय भवन र स्वास्थ्यसंस्थाको भवन निर्माण यही आर्थिक बर्षमा पुरा हुने तिमल्सिनाले जानकारी दिनुभयो ।
खानेपानी र सडक पनि नगरको प्रमुख प्राथमिकतामा परेको र सबै वडा कार्यालयसम्म पुग्ने सडक निर्माण, एक घर एक धारा अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । नगरकै दुईवटा टोल वातावरणमैत्री घोषणा गरेको र सिंगो नगरलाई वातावरणमैत्री नगर बनाउन आफूहरु लागिपरेको उनले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरका ११ वडामध्ये ८ वटाको भवन निर्माण सम्पन्न भएको र बाँकी तीनवटाको निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।
वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले सबै सरोकारवालाको साथ र सहयोगबाट वडा कार्यालयको भवन तथा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको बताउँदै जग्गादाताहरु र अन्य सहयोगीप्रति आभार प्रकट गर्नुभयो । भवन निर्माणसँगै समग्र वडाको विकासका लागि आफूहरु क्रियाशिल रहेको भन्दै उनले वडा र स्वास्थ्य चौकीको भवन निर्माणपछि सेवा प्रवाह अझै प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो ।