स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा शिलान्यास !

  • नमोबुद्ध संवाददाता,

काभ्रे-मण्डन देउपुर नगरपालिका वडा नं. १० चण्डेनीमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण थालिएको छ । गत २०७२ बैशाखको भुकम्पले क्षतिग्रस्त स्वास्थ्य चौकिको संरचना फेरिने भएको हो । भवनको मंगलबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शिलान्यास गर्नुभयो । भारतीय दुतावासको अनुदान सहयोगमा जिल्ला आयोजना कार्यान्वयन ईकाईबाट २ करोड २ लाख रुपैयाँमा ठेक्का सम्झौता भई स्वास्थ्य चौकी भवन निर्माण थालिएको हो ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले काम बेलैमा सकाउन ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । स्वास्थ्य उपचार जनताको अधिकार रहेको उल्लेख गर्दै उहाँले यसको सुनिश्चितताका लागि आफू लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वास्थ्य चौकिलाई आवश्यक पर्ने मेसिन,चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउने वातावरण बनाउने पनि बताउनुभयो ।

भौगोलिक रुपमा विकट रहेको चण्डेनीको माथिल्लो भेगलाई समेट्ने गरी शहरी स्वास्थ्य केन्द्रको व्यवस्थाका लागि स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य कुमार तामाङले गरेको अनुरोधप्रति आफू सकारात्मक रहेको राज्यमन्त्री श्रेष्ठको भनाई छ ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जनताको स्वास्थ्य सेवाको विकासका लागि थालिएको यस्तो काममा सहकार्य गर्न नगर तयार रहेको बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रतिनिधि सन्तोष निरौलाले २०७८ जेठ ३१ गते प्रतिष्ठा/शिवालय जेभी काभ्रेसँग सम्झौता भएको भवनको निर्माण कार्य १८ महिना भित्र सक्नुपर्नेमा कम्पनीबाट तोकिएको अवधि अगाडि नै सम्पन्न गर्ने प्रतिबद्धता आएको जानकारी दिनुभयो । कोभिडले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अति आवश्यक महसुस गराएको भन्दै उहाँले बेलैमा काम सकाउन अनुगमन र खबरदारी हुनुपर्नेमा जोड दिनुभयो ।

२३ सय स्क्वायर फिट भन्दा बढी भाग चर्चिने भवन भुईंतला ८ कोठा र माथि ६ कोठाको हुने उहाँले जानकारी गराउनुभयो ।

शिलान्यास कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष विष्णुमणि नेपालले वडामा खानेपानी,विद्युत लगायतका क्षेत्रमा हाँसील गरेको विकास निर्माणको चर्चा गर्दै सुविधा सम्पन्न स्वास्थ्य चौकि भवन बनाउने धेरै अघिको सपना साकार हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चण्डेनीमा सिञ्चाईका लागि सहयोग गर्न राज्यमन्त्री श्रेष्ठ र मण्डन देउपुरमै जन्मिएका नेपाल सरकारका पूर्व सचिव तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रशासकिय सल्लाहकार जनार्दन नेपाललाई अनुरोध गर्नुभयो ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि वडाध्यक्ष नेपालकै परिवार,राधा नेपाल, रामप्रसाद नेपाल र पिताम्बर नेपालले जग्गा दान गरेकोमा धन्यवाद दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस !