• शिशिर दोङ,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ चुखाका पुराना कम्युनिष्ट नेता याम नारायण श्रेष्ठको निधन भएको छ । तत्कालीन सस्र्युखर्क गाविस वडा ६ का वडा अध्यक्ष श्रेष्ठको ७६ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको परिवारले जनाएको छ । केही दिन देखि छातीमा समस्या देखिएका श्रेष्ठलाई छोराहरुले चावहेलस्थित हेल्पिङ अस्पतालमा भर्ना गराएका थिए । आइसियू विशेष कक्षामा उपचार गराइ राखेका श्रेष्ठलाई आइतबार देखि झन व्यथाले च्यापेपछि बचाउन नसकेको अस्पतालले बताएको छ ।

उहाँको हिन्दु संस्कृती अनुसार मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न एमाले नेता कार्यकर्ता तथा सर्वसाधारण पशुपति पुगेका थिए । उहाँको दुई छोरा तीन छोरी छन् ।

वि.स.२००२ सालमा जन्मिएका श्रेष्ठ २०४९ र २०५४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट वडा अध्यक्ष बन्नुभएको थियो । कर्तव्यनिष्ठ उहाँ जनताको मन जित्ने कम्युनिष्ठ नेता हुनुहुन्थ्यो ।

एमाले काभ्रे जिल्ला उपसचिव इन्द्र तामाङ,जिल्ला सदस्य संग्रामजीत लामा,जेनिश लामा लगायतले श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको निधनले ठूलो क्षति भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । श्रेष्ठबाट आजको पुस्ताले निष्ठा र इमान्दारिताको पाठ सिक्न सकिने नेताहरुको भनाई छ ।

श्रेष्ठको निधनमा तेमाल चुखाका स्थानीय स्तव्ध भएका छन् । आजको राजनीतिक क्षेत्रले श्रेष्ठ जस्ता निश्वार्थ व्यक्ति पाउन मुस्किल रहेको पनि स्थानीयले बताएका छन् । स्थानीय मेघ तामाङले आजको रानजीतिमा बाँचुञ्जेल यस्ता निष्ठावान व्यक्तित्वलाई विर्सने प्रवृत्ति रहेको भन्दै दुख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !