• नमोबुद्ध संवाददाता,

काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वरिष्ठ चित्रकलाकार एवम् कवि नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का पूर्व सदस्य तथा आजीवन सदस्य कीर्तिशेष उत्तम नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुका साथै कीर्तिशेष नेपालीका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्राज्ञ परिषद्का पदाधिकारीसहित मङ्गलबार नेपाली निवास महाराजगञ्ज पुगी कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका तर्फबाट श्रद्धाञ्जलि तथा समवेदना प्रकट गर्नुभएको हो ।

कुलपतिले नेपाली साहित्यको कविता तथा कलाको उन्नयनमा नेपालीले दिनुभएको विशिष्ट योगदानको स्मरण गर्दै उहाँको निधनले नेपाली कवितासाहित्य र ललितकलाका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । कुलपतिले समवेदना–पत्र नेपालीका पुत्रमार्फत नेपालीकी धर्मपत्नी श्रीमती मन्दिरा कर्माचार्यलाई अर्पण गर्नुभएको थियो ।

समवेदना–पत्र सदस्य सचिव जगत्प्रसाद उपाध्यायाले वाचन गर्नुभएको थियो । कुलपति उप्रेती, उपकुलपति डा. जगमान गुरुङ र सदस्य सचिव उपाध्यायद्वारा हस्ताक्षरित समवेदना–पत्रको व्यहोरा यस प्रकार रहेको छ—

श्रीमती मन्दिरा कर्माचार्यज्यू,
बाँसबारी, काठमाडौँ

वरिष्ठ कलाकार तथा कवि एवम् तपाईंका आदरणीय पति तथा छोराहरू उद्यमप्रसाद कर्माचार्य र सुद्यमपसाद कर्माचार्य तथा छोरीहरू ममता कर्माचार्य र प्रकृति कर्माचार्यका पूजनीय पिता श्री उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को मिति २०७८ श्रावण ६ गते बिहान ४ः३० बजे त्रि.वि. शिक्षण अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएकोमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिवार अत्यन्त दुःखित, मर्माहत र स्तब्ध छ । वि.सं. १९९४ वैशाख १८ गते काठमाडौँको किलागल टोलमा माता रत्नदेवी र पिता विष्णुप्रसाद कर्माचार्यका सुपुत्रका रूपमा जन्मिएर लखनउबाट बिएफएसम्मको शिक्षा हासिल गरी चित्रकला र प्राज्ञिक तथा सृजनात्मक लेखनमा अनवरत समर्पित नेपाली विशिष्ट साधक हुनुहुन्थ्यो । २०२१ सालमा ‘मधुपर्क’ मा कलासम्बन्धी लेख र कविता एकै पटक प्रकाशन गरी नेपाली चित्रकला र साहित्य सिर्जनाका क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले नेपाल, भारत, जापान, यु.एस.एस.आर., बङ्गलादेश, कोरिया, अस्ट्रेलिया आदि देशहरूमा अनेकौँ पटक एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । उहाँका चित्रकलाहरू संयुक्त राष्ट्रसङ्घ (न्युयोर्क) र नेपालका सङ्ग्रहालयहरूमा समेत सङ्गृहीत छन् ।

कलाका माध्यमबाट नेपाललाई विश्वव्यापी रूपमा चिनाउन उहाँको अतुलनीय योगदान रहेको छ । उहाँले ‘उत्तम नेपालीका कविताहरू’ (२०६०) र ‘बिना’ कवितासङ्ग्रह (२०६१) तथा ‘गीत तथा भजन’ गीतिसङ्ग्रह गरी तीनओटा कविता÷गीतिकृति रचना गरेर नेपाली काव्यसाहित्यमा समेत महत्त्वपूर्ण योगदान पु¥याउनुभएको छ । राष्ट्रिय प्रतिभा पुरस्कार, सुप्रबल जनसेवाश्री तृतीयलगायत दर्जनौँ पुरस्कार तथा पदकहरूबाट विभूषित नेपालीले तात्कालिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा २०५१ सालदेखि २०५६ सम्म प्राज्ञ परिषद् सदस्य तथा २०६० सालदेखि आजीवन सदस्य रहेर प्रज्ञा–प्रतिष्ठानको संस्थागत विकासमा समेत निर्वाह गर्नुभएको अभिभावकीय भूमिका अविस्मरणीय छ ।

निधनको यस दुःखद घडीमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिवारका तर्फबाट कीर्तिशेष उत्तम नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ र पतिवियोगको असह्य पीडामा रहनुभएकी तपाईं श्रीमती मन्दिरा कर्माचार्यका साथै शोकसन्तप्त समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !