• नमोबुद्ध संवाददाता,

रातमाटे–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ मा सुविधासम्पन्न वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । भ्याटबाहेक ४० लाख ७४ हजार ५ सय ७१ रुपैयाँमा सिद्धिविनायक निर्माण सेवासँग ठेक्का सम्झौता गरी सम्पन्न भएको वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभएको छ । वडा कार्यालयको भवन र स्वास्थ्य केन्द्रको निर्माणसँगै अब स्थानीयबासीलाई सेवा प्रवाहका लागि थप सहजता आउने भएको छ ।

नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं. ११ सहित वडा नं. ३ र ६ को वडा कार्यालय निर्माणको काम सम्पन्न भइसकेका छन् । दोस्रो चरणमा निर्माण थालिएका वडा नं. २ को भवन निर्माण पनि सम्पन्न भएपछि उद्धघाटन गरिएको हो । वडा नं. ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सबै वडाको सुविधासम्पन्न कार्यालय भवन निर्माण गर्ने जिल्लाको पहिलो पालिकाको रुपमा नमोबुद्ध नगरपालिका रहने दावी गर्नुभयो । उहाँले बाँकी वडा कार्यालयको भवन निर्माण यही आर्थिक बर्षमा सम्पन्न हुने तथा सबै वडाको स्वास्थ्य संस्थाको भवनसमेत निर्माण सकिने बताउनुभयो ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष सञ्जीव ढकालले चुनावी प्रतिवद्धताअनुसार वडाको विकासका लागि लागिपरेको बताउनुभयो । वडाबासी, राजनीतिक दल लगायत सरोकारवालाहरुको सकारात्मक साथ र सहयोगका कारण भौतिक एवं सामाजिक विकासका कार्यहरु भइरहेको ढकालको भनाई छ ।

कार्यक्रममा वडा कार्यालय भवनका लागि जग्गा उपलव्ध गराउने सीता माथे ओस दम्पति, जग्गाका लागि सहजीकरण गरिदिने स्थानीय समाजसेवी गोविन्द घिमिरे तथा निर्माण कम्पनी सिद्धिविनायक निर्माण सेवाका निर्मल लामालाई सम्मान समेत गरिएको थियो ।

नमोबुद्ध नगरपालिकाले निर्माण सम्पन्न गरेको वडा नं. २ को कार्यादय दोस्रो हो । यसअघि यही साउन ४ गते वडा नं. ११ को वडा कार्यालयको सुविधासम्पन्न भवन उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !