• नमोबुद्ध संवाददाता,

बनेपा-काभ्रेको महाभारत गाउँपालिकाका नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी सोमबार १ सय बढि कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बनेपामा आयोजित महाभारतबाट शहरमा बसेका कार्यकर्ताहरुको भेटघाट तथा प्रशिक्षण कार्यक्रमकाबीच पार्टी प्रवेश गर्ने अधिकांश नेपाली काँग्रेसका कार्यकर्ता हुन् । उनिहरु स्थानीय तहको गत निर्वाचनमा उम्मेद्धार भएका र क्रियाशिल सदस्यता लिएकाहरु समेत छन् । कार्यक्रममा नेकपा क्रान्तीकारी माओवादी र नेकपा एमालेका केहि स्थानीय कार्यकर्ताहरु पनि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरुलाई माओवादी केन्द्रका स्थायी कमिट सदस्य देवेन्द्र पौडेलले खादाद्धारा स्वागत गर्नुभएको थियो ।
आफ्ना पालिकाका विभिन्न वडाका अन्य पार्टीका १ सय ३ जना कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको माओवादी नेता एवं पालिका अध्यक्ष कान्छालाल जिम्बाले स्पष्ट पार्नुभयो ।

पार्टी प्रवेश गर्नेहरुको नाम वाचन गर्दै जिम्बाले महाभारत क्षेत्रको विकासका लागि युवाहरु माओवादीमा गोलबन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो-“हिजोदेखिनै महाभारत माओवादी किल्ला हो,महाभारतको समृद्धिमा अझै माओवादी शक्तिको आवश्यकता महसुस गरेर अन्य पार्टीबाट आउनुभएका तपाईहरुलाई स्वागत छ,हामी उचित जिम्मेवारीका साथ सहयात्रामा अघि बढ्नेछौं ।”

आफूलाई जिताउन मतदान गर्ने महाभारतबाट शहरमा मजदुरी गरेर बसेका मतदाता तथा पार्टी कार्यकर्ताहरुसँग भेटघाटको अवसर पाएको उल्लेख गर्दै उहाँले पालिकाले गरेको विकास निर्माणको उपलब्धी र आगामी दिनमा गर्नुपर्ने विकास कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

“हामीले डाँडापारीलाई विद्युतको केन्द्रिय प्रशारण लाईनमा जोड्ने प्रक्रिया थाल्यौं,वर्षमा ९ महिनासम्म गाडी गुड्न सक्नेगरी अस्थायी बाटोहरु बनाउन सक्यौं तर अझै ३ महिनाको बीचमा कोही विरामी परे कि बोकेर कि हेलिकप्टरबाट अस्पताल ल्याउनुपर्ने अवस्था छ,द्धन्दकालमा धेरैपटक डाँडापारीको यात्रा गर्ने हाम्रा नेता माननिय देवेन्द्र पौडेलज्यूलाई हाम्रो अवस्था थाहा छ,यसमा सहयोगका लागि अनुरोध गर्दछु ।”-जिम्बाले माओवादी नेता पौडेलको ध्यानाकर्षण गराउँदै भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले संघीय राजधानीसँग जोडिएको काभ्रेको महाभारत विकासमा पछि पर्न नहुने बताउनुभयो । यसमा आफ्नो पहलकदमी हुने उहाँको भनाई छ । माओवादी सरकारमा सामेल रहेकोले सरकारको बजेट,नीति,कार्यक्रममार्फत महाभारतको आवश्यकताको सम्बोधन गर्ने उहाँको प्रतिबद्धता थियो । उहाँले भन्नुभयो-“महाभारत कृषिका लागि लोभलाग्दो ठाउँ हो,यसका लागि आवश्यक विकासका पूर्वाधारहरु निर्माणलाई प्राथमिकता दिनुपर्छ ।”

नेकपा क्रान्तीकारी माओवादीबाट माओवादी केन्द्र प्रवेश गरेका प्रेम थिङले एकतामार्फत डाँडापारीको विकासका लागि आफूहरुले माओवादी केन्द्र रोजेको बताउनुभयो ।

कार्यक्रममा माओवादी नेता पूर्व राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’,संघीय सांसद गंगाबहादुर दोङ ‘बमध्वज’,बागमती प्रदेश सांसद रत्न ढकाल,माओवादी बागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ लगायतले महाभारतका जनताले मात्रै नभई मुलुक र सारा जनताले समृद्ध नेपाल निर्माणका लागि माओवादी केन्द्रलाई नै खोजेको जीकिर गरेका थिए । दुई दशकदेखि मुलुक माओवादीले उठाउँदै आएको एजेण्डामै रहेको दावी गर्दै नेताहरुले त्यसको उचित कार्यन्वयनमा पनि माओवादीको मुख्य भुमिका जनताले खोजेको धारणा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !