वडा नं. ४ को प्रभावित क्षेत्र शिल

  • नमोबुद्ध संवाददाता,

भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाका कोरोना संक्रमितले घरघरमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।
नगरका केही स्थानमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएपछि नगर प्रमुख टिपी तिमल्सिनाले औषधीसहित  स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिने गरेको बताउनुभयो ।

शुक्रबार नमोबुद्ध ४ जोरसल्ला बस्तीका धेरै मानिसमा लक्षणसहित कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको पाइएपछि नगर प्रमुखको नेतृत्वमा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीको टोली पुगेको थियो ।

टोलीले नमुनाको रुपमा बस्तीका २४ जनाको एन्टिजेन विधिबाट कोभिड–१९ को परिक्षण गरेको थियो । जसमध्ये ९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । नगर प्रमुख तिमल्सिनाले पोजेटिभ देखिएकाहरुको घरमै पुगेर अत्यावश्यक औषधी, मास्क तथा सेनिटाइजर वितरण गर्नुभयो । उहाँले नगरबासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै कुनै स्वास्थ्य समस्या देखिए तत्काल नगरपालिकामा खबर गर्न आग्रह गर्दै उपचारको लागि व्यवस्था गर्ने पनि बताउनुभयो ।

नगर प्रमुख तिमल्सिनाले सामाजिक दुरी कायम गर्न, मास्क तथा सेनिटाइजर प्रयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । आत्मबल र स्वास्थ्य सजगताबाटै कोभिड–१९ सँग लड्न सहज हुने तिमल्सिनाको भनाई थियो ।

नगर प्रमुख तिमल्सिनाले अहिले नमुनाको रुपमा परिक्षण गरिएको र केही दिनमा वृहतरुपमा परिक्षण अभियान सञ्चालन गर्ने पनि बताउनुभयो ।

वडा नं. ४ को प्रभावित क्षेत्र शिल

नमोबुद्ध नगरपालिकाले बस्तीको अवस्थाबारे बुझेर, स्थानीयबासीसँगको समन्वयसँगै नगरपालिकाले वडा नं. ४ को प्रभावित क्षेत्र शिल गर्ने निर्णय गरेको छ । शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी साउन ७ गते राती १२ बजेसम्मका लागि प्रधावित क्षेत्र शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताउनुभयो ।

नगरपालिकाले वडा नं. ४ को जोरसल्ला, फुस्रे डाँडा, लालदेवी बस्ती, श्रीराम वस्ती, सुर्य वस्ती, सार्की टोल, कामी टोल र चिसापानी वस्ती पूर्णरुपमा शिल गरेको हो ।

शिलको अवधीमा औषधीपसल र स्वास्थ्य संस्थाबाहेक खाद्यान्न पसल, दूध र दुग्दजन्य पदार्थ बिक्री गर्ने पसल, मासु जन्य पसल, फलफुलजन्य पसल लगायत सबै पसलहरु वन्द गर्ने निर्णय गरिएको छ ।

यस्तै, बैंक तथा सहकारी लगायतका वित्तीय संस्था र अन्य कार्यालयहरु पनि वन्द रहनेछन् भने अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस !