पहिलो चरणमा काँग्रेसका खाँड गृह, कार्की कानुन र माओवादीका शर्मा अर्थ र भुसाल उर्जा मन्त्रीमा नियुक्त 

  • नमोबुद्ध संवाददाता,

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो भन्ने नखुलेपछि त्यसमा देउवाले आपत्ति जनाउनुभएको थियो, संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएपछि पूर्व निर्धारित समय ६ बजे शपथ समारोह सुरु हुन सकेन ।

झण्डै दुई घण्टा छलफल भएपछि राष्ट्रपति कार्यालय सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्न तयार भएपछि देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

चार मन्त्री नियुक्त

देउवाले सपथ लिएको समारोहकै बीच मंगलबार नै राष्ट्रपति समक्ष मन्त्रिपरिषद्का ४ सदस्यले सपथ लिनुभएको छ ।

कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिला,सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रीको सपथ लिनुभएको हो ।

जसपा तत्कालका लागि सरकारमा सामेल नहुने भएपछि देउवाले सुरुमा आफ्नो पार्टीबाट २ र माओवादी केन्द्रबाट २ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सोमबार सर्वोच्च अदालतले २९ गते संसद पुनस्र्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई साँझ ५ बजेसम्म नियुक्त गर्न परमादेश दिएपछि मंगलबार नयाँ सरकार बनेको हो ।

प्रतिक्रिया दिनुहोस !