• नमोबुद्ध संवाददाता,

बनेपा–काभ्रेमा नेकपा एमाले कार्यकर्ताहरुले सर्वोच्च अदालतले संसद पुनस्थापना र शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नुलाई दलिय व्यवस्था तथा लोकतन्त्रमाथिको आक्रमणको रुपमा लिएका छन् । यसको विरोधमा सत्तारुढ दल एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले काभ्रेको बनेपामा प्रधानन्यायाधिश लगायतका न्यायाधिशहरुको पुत्ला जलाएका छन् ।

मसाल जुलुस प्रर्दशन गर्दै युवा तथा विद्यार्थीहरुले बनेपाको चारदोवाटोमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा लगायत फैसलामा सहभागी न्यायाधिशहरुको पुत्ला जलाएका हुन् । प्रदर्शनमा सहभागिहरुले सर्वोच्च अदालतको फैसलाले मुलुक निर्दलियतातर्फ उन्मुख भएको भन्दै चर्का नाराबाजी गरेका थिए ।

युवा नेता महेश बस्नेतको नेतृत्वमा दिउँसो काठमाडौंमा भएको प्रदर्शनमा समेत सहभागि भएका युवा संघका नेता राकेश लामाले सर्वोच्च अदालतले नाजायज गठबन्धनको नाजायज उत्तराधिकारी जन्माउनु यो मुलुकको भाग्य र भविष्यमाथि नै दुर्भाग्य र आजको दिन कालो दिनको रुपमा चित्रण हुने बताउनुभयो । यसमा युवाहरुको खवरदारी निरन्तर जारी रहने उहाँको भनाई छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सोमबार असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस !