• नमोबुद्ध संवाददाता,

भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाको दसौं नगरसभाले आगामी आर्थिक बर्ष २०७८/७९को नीति कार्यक्रमका साथै ६९ करोड बराबरको बजेट पारित गरेको छ । नगरसभाले नगर प्रमुख टिपी शर्मा तिमल्सिनाद्वारा असार १० गते बसेको दशौं सभाको पहिलो बैठकमा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सोमबार सर्वसम्मतिले पारित गरेको हो ।

नगर प्रमुख तिमल्सिनाको अध्यक्षतामा सम्पन्न नगरसभाले असार १० गते पेश भएको बजेटमा केही संशोधनसहित ६९ करोड ३ लाख २७ हजार ९ सय २३ रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

जसमा चालुतर्फ  १५ करोड ७ लाख ४ हजार ९ सय २३ तथा पुँजीगततर्फ ५३ करोड ९६ लाख २३ हजार रुपैयाँ खर्च प्रस्ताव गरिएको छ ।  आयमा आन्तरिकतर्फ १३ करोड, ८ लाख १० हजार ३ सय ९४ अनुमान गरिएको छ । यस्तै राजस्व बाँडफाँडबाट ९ करोड ९६ लाख ३७ हजार पाँच सय ३०, वित्तीय समानीकरणमा संघ तथा प्रदेशबाट १२ करोड ३ लाख ४ हजार, सशर्त अनुदान ३० करोड १२ लाख ७६ हजार तथा समपुरक अनुदान ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

नगरसभाले “स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारः दिगो विकास र समृद्धिका लागि पूर्वाधार“ भन्ने मूल ध्येय लिई विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिई लोक कल्याणमा आधारित कार्यक्रम संचालन गर्ने गरी तयार पारिएको नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रममा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने, नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने, सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने उल्लेख छ ।

यस्तै डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने, बुहारी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नमोबुद्ध नगरपालिकाले आफ्ना आमाबाबुको राम्रो पालनपोषण गर्ने सन्तानलाई सम्मान गर्ने निर्णय पनि नगरसभाबाट गरेको छ । जसअनुसार प्रत्येक वडाबाट दुई जनालाई सम्मान गरिनेछ ।

नगरसभा बैठकले विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक तथा लेखा समितिका संयोजक एवं वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक विधेयक पनि सर्वसम्मत पारित गरेको छ ।

नगरसभा बैठकको समापन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सौहार्दरुपमा सभा सम्पन्न बनाउन साथ दिने नगरसभा सदस्यहरुसहित सबै सरोकारवालालाई धन्यवाद दिनुभयो ।

बैठकमा धन्यवाद मन्तव्य गर्दै नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगत चार बर्षदेखि सर्वसम्मतिले बजेट पारित गर्दै आएको र यसपटक पनि सर्वसम्मतिमै बजेट पारित भएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !