• नमोबुद्ध संवाददाता,

भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले विपी राजमार्गअन्तर्गत भकुण्डे बजारमा सडकको दायाँवायाँ वृक्षारोपण सुरु गरिएको छ । वातावरणमैत्री नमोबुद्ध नगर बनाउने अभियानअन्तर्गत डिभिजन वन कार्यालय काभ्रेसँगको सहकार्यमा आइतबारदेखी बजार क्षेत्रमा सडकको दायावायाँ अशोकाका बिरुवा रोप्न थालिएको छ ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै वातावरणमैत्री नगरपालिका बनाउने प्रतिवद्धताअनुसार काम गरिरहेको र त्यसैको निरन्तरतास्वरुप सडकको दुबैतर्फ वृक्षारोपण थालिएको जानकारी दिनुभयो । उहाँले वातावरणमैत्री नमोबुद्ध बनाउने अभियानमा साथ दिएकोमा डिभिजन वन कार्यालय काभ्रेलाई धन्यवादसमेत दिनुभयो । नगरपालिकाले सबै वडामा एक वडा एक चौतारो तथा एक वडा एक पोखरी निर्माणको कार्यलाई अभियानकै रुपमा सञ्चालन गरेको उहाँले बताउनुभयो । उहाँले वन कार्यालयको सहयोगमा रोपिएका बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिने पनि बताउनुभयो ।

डिभिजन वन कार्यालय काभ्रेका डिभिजनल वन अधिकृत देवीचन्द्र पोखरलेलले वन तथा वातावरण मन्त्रालयले देशव्यापीरुपमै जंगलमा वृक्षारोपणका साथै अहिले नगरक्षेत्र, ऐलानी तथा पर्ति जग्गामा अभियानकै रुपमा वृक्षारोपण गर्ने तथा उद्यान बनाउने कार्यलाई अघि बढाएको बताउनुभयो । शहरी क्षेत्रमा वृक्षारोपण गर्दा नगरको सौन्दर्यतामा वृद्धि हुनुका साथै फोहोरमैलाको नियनत्रणमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार डिभिजन वन कार्यालयको १२ लाख रुपैयाँ आर्थिक सहयोगमा रोपिएका बिरुवा जोगाउने ‘ट्रि गार्ड’सहित २ सय ५० वटा अशोकका बिरुपमा रोपिनेछ । यसले वातावरणमैत्री नमोबुद्धको अभियान सफल बनाउन मद्दत पुग्ने काफ्लेले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय काभ्रेकै सहयोगमा नमोबुद्ध नगरपालिका २ मा पारिजात पार्क तथा नमोबुद्ध नगरपालिका ८ मा वातावरणमैत्री चिल्ड्रेन पार्क निर्माण भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !