नमोबुद्ध संवादाता

भकुण्डेबेशी-काभ्रेको नमोबुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा आइतबारदेखी सिसिटिभी निगरानी प्रणाली जडान गरिएको छ । बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणको उद्देश्यले नमोबुद्ध नगरपालिकाले बजार क्षेत्रमा सिसिटिभी जडान गरेको हो ।

नमोबुद्ध नगरपालिकाले १५ लाख रुपैयाँको बजेटमा १७ स्थानमा १६ वटा क्यामरा जडान गरेको छ । यस्तै तीनवटा क्यामरा प्रहरी चौकी भकुण्डेबेशीमा जडान गरिएको छ । सबै सिसिटिभी क्यामराको कन्ट्रोल प्रहरी चौकी भकुण्डेबेशीबाट हुने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो । पछिल्लोपटक भित्रिएको नयाँ प्रविधिसहित उच्च क्षमताका क्यामरा जडान गरिएको छ ।

तिमल्सिनाले जनप्रतिनिधि आएपछि डिजिटल नमोबुद्धको अभियान सुरु गरिएको र त्यसलाई कार्यान्वयन गर्ने क्रममा बजार क्षेत्रमा सिसिटिभी जडान गरिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, प्रशासनिक लगायतका क्षेत्रमा डिजिटल नमोबुद्धको अवधारणाअनुसार काम भइरहेको, नमोबुद्धको प्रमुख पर्यटकीय क्षेत्र नमोबुद्ध गुम्बा परिसरमा पनि सिसिटिभी क्यामराबाट निगरानीको व्यवस्था यसअघि नै गरिएको जानकारी दिनुभयो । वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत राजस्व संकलन लगायतका काम पनि भइसकेको तिमल्सिनाले बताउनुभयो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नगर र नगरबासीलाई सुरक्षित बनाउन नमोबुद्ध नगरपालिकाले लिएको पहलकदमीको प्रशंसा गर्नुभयो । सिसिटिभी जडान भएपछि नगरभित्र हुने अपराधको अनुसन्धानमा विशेष सहयोग हुने भन्दै पोखरेलले यसका लागि स्थानीय सरकारले दिएको चासो र चिन्ता प्रशंसनीय रहेको बताउनुभएको हो । उहाँले आगामी दिनमा पनि शान्ति सुरक्षा कायम गर्न नगरपालिका र सुरक्षा निकायको सहकार्यको आवश्यकता औंल्याउँदै त्यसका लागि आवश्यक सहजीकरणको काम जिल्ला प्रशासन कार्यालय काभ्रेले गर्ने बताउनुभयो । अपराध अनुसन्धानका लागि सिसिटिभीबाट हुने निगरानी विश्वमै भरपर्दो अभ्यासको रुपमा स्थापित भइसकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !