
- नमोबुद्ध संवाददाता,
तेमाल-काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सस्र्यूखर्क र वडा नं २ चुखामा आदिवासी जनजाति संस्कृति प्रवर्द्धनबारे वहस चलेको छ । तेमाल फाउण्डेशन र सेलो फाउण्डेशनले छुट्टाछुट्टै गरेको कार्यक्रममा स्थानीय वडा कार्यालयहरुसँगको सहकार्यमा स्थानीय संस्कृतिविद्हरु छलफलमा जुटेका हुन् ।
आगामी दिनमा सांस्कृतिक डकुमेन्ट्री निर्माणको लक्ष्य समेत राखेर गत बुधबार र बिहीबार सस्र्यूंखर्कमा र जेठ ३१ र असार १ गते चुखामा भएको कार्यक्रममा स्थानीय तामाङ,नेवार,मगर समुदायका बोन्बो,लामा,ताम्बा,गान्बा तथा पुजारीहरुले संस्कृति पुस्तान्तरणमा आजको युवालाई चासो राख्न र आफ्नो पहिचान फिजाउन विकसित सूचना प्रविधिको व्यापक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
वडा नं १ र २ को वडास्तरीय बजेटमार्फत सस्र्यूंखर्कमा तामाङ संस्कृति प्रवद्र्धन कार्यक्रम अन्र्तगत बोन्बो,ताम्बा,लामा सम्वाद्,प्रवचन र श्रव्यदृश्य छायांकन समेत गरिएको हो भने चुखामा जनजाति तथा विविध कार्यक्रम अन्तर्गत स्थानीय संस्कृतिविद्हरुसँग अन्र्तक्रिया तथा श्रव्यदृश्य अभिलेखीकरण गरिएको हो ।
सस्र्यूंखर्कको सम्वाद्,प्रवचन र छायांकन
साविकको सस्र्यूंखर्क ६ चुखा,४ आधाबाट,३ लामागाउँ लगायतका स्थानका सांस्कृतिक महत्वका स्थलहरुको अध्ययन,अनुसन्धानका साथै स्थानीय संस्कृतिका चिन्तकहरुको धारणा खोतल्ने काम समेत भएको छ ।
नेपाल आदिवासी जनजति पत्रकार महासंघ काभ्रेका अध्यक्ष शिशिर दोङले सहजिकरण गुर्नभएको औपचारीक कार्यक्रममा अभियन्ता इन्द्र बहादुर तामाङदेखी समुदायका स्थानिय गन्यमान्य तथा गान्वा कृष्णमान तामाङ,बोन्बो बीरबहादुर वाईबा,लामा विरेश लामा,ताम्बा पंखे तामाङ सांस्कृतिक संवाद,प्रवचनमा सरिक हुनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले तामाङ समुदाय बहुसांस्कृतिक समुदाय रहेको बताउनुभयो । शाक्यमुनि सिर्दाथ गौतमबाट बुद्धधर्मको सुरुवात भएपनि गुरु पद्यसम्भवको पालादेखी मात्रै यसको वृहत विस्तार भएको उल्लेख गर्दै उहाँले पद्यसम्भवले तिव्वत्को वोन धर्मलाई विस्थापन गरिएपछि तिनका प्रवर्तकहरु(बोन्बो) हरु नेपाल प्रवेश गरेको दावी गर्नुभयो । तिनै बेला तामाङहरु वोन धर्मावलम्बी भएको,पछि बौदमार्गी भएकोले यसको मिश्रण आजसम्म देखिएको बताउनुभयो ।
तामाङ समुदायको धर्म,संस्कृति संरक्षणमा वडासँग सहकार्य गरेकोमा तेमाल फाउण्डेशनप्रति खुसी व्यक्त गर्नुहुदे उहाँले स्थानीय सरकारले धर्मसभा गठन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-“ म या मेरा मान्छे स्थानीय सरकारको नेतृत्वमा पुगेमा धर्मसभा गठनको काम हुनेछ,सबै धर्म,जातजातिको भाषा,संस्कृतिको विकासको काम त्यसैबाट गर्न यसको आवश्यकता देखिन्छ ।” सांस्कृतिक जागरणका काम अझै आवश्यक रहेको औंल्याउनुहुदै उहाँले यसतर्फ जोड दिनुभएको हो ।
बोन्बो वीरबहादुर वाईबाले आजका युवालाई पुरातन र रुढिवादी जस्तो देखिएपनि बोन्बोको भुमिका तामाङ समुदायमा महत्वपूर्ण रहेको बताउनुभयो । वाईबा कुलको पुजारी समेत रहनुभएका उहाँले कुल देवताको निर्माण,पुजा पाठ,सुद्धसांगे(रुद्री) समेत गर्दै आउनुभएको छ । यसखाले सांस्कृतिक पहिचान संरक्षणमा लाग्दै आउनुभएका उहाँले यिनै सांस्कृतिक विधि र संस्कारबाट मान्छेलाई शान्ती मिल्ने गरेको बताउनुभयो ।
ताम्बा पंखे तामाङले तामाङ समुदायको जन्मदेखी मृत्युसम्म ताम्बा नभइ नहुने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । जीवनको युवा उमेरमै ताम्बा ज्ञान हाँसील गरी रामेछाप,तराईका जिल्लाहरुमा समेत ताम्बा भुमिका निर्वाह गर्न पुगेका उहाँले मान्छेलाई सभ्य बनाउन,थिती,विधिमा बसाउन ताम्बालाई भुल्न नहुने धारणा व्यक्त गर्नुभयो ।
लामा विरेश तामाङले तामाङ समुदायमा न्वारान,व्रतबन्ध,विवाह र मृत्यु संस्कारमा लामाको भुमिका रहेपनि ब्रतबन्ध र विवाहमा अलग्याउदै जानु चिन्ताको विषय रहेको बताउनुभयो । गान्बा कृष्णमान तामाङले पुरानो संस्कृति युवाले भुल्दै भएको भन्दै तामाङ जनजीवनले सरलताको नाममा यो पाटो विर्सने गरेको बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष जगत तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मान बहादुर श्रेष्ठले भौतिक पुर्वाधार विकास,महिला विकास,स्वास्थ्य,खानेपानी,कृषि क्षेत्रको विकास साथै संस्कृति प्रवद्र्धनका काममा समेत आफ्नो ध्यान गएकोले यसखाले कार्यक्रम गरिएको बताउनुभयो ।
सांस्कृतिक पर्यटनको विकासमा समेत महत्वपूणर् भुमिका रहने भएकोले सांस्कृतिक पाटो बलियो हुनेपर्ने, यस भेगका तामाङ समुदायको मात्रै नभई मगर,नेवार र ब्राम्हाम समुदायको समेत संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै यसमा सबैमा ध्यानआकर्षण गराउनुभयो । यसलाई ध्यानमा राखी आगामी दिनमा १ नं वडा कार्यालयले कुनै पनि संघसंस्थासँग सहकार्य गर्नेगरी नीति र बजेटमार्फत पहलकदमी लिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष तामाङले संस्कृति पुस्तान्तरणमा सहयोग पुग्ने अपेक्षाका साथ आगामी दिनमा सांस्कृतिक डकुमेन्ट्री निर्माणको योजना रहेको जानकारी दिनुभयो । यो पटकको कार्यक्रममा छायांकन गरिएका श्रव्यदृश्य सामाग्रीको प्रयोग र अन्य खोज अनुसन्धानका साथै प्राविधिक पाटोका काम गरी डकुमेन्ट्रीको रुप दिन समय र बजेट आवश्यक रहेकोमा सहकार्यका लागि वडालाई अनुरोध गर्नुभयो ।
आयोजक तेमाल फाउण्डेशनका उपाध्यक्ष सानुमान तामाङले आफ्नो संस्थाले गत वर्ष ल्होछार कार्यक्रम गरेको स्मरण गराउँदै उहाँले संस्कृति प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।
औपचारीक कार्यक्रममा पत्रकार चित्र तामाङ,कृष्ण घिसिङ,जनचेतना मावि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष इन्द्र अधिकारी,पञ्चकन्य आवि विद्यालय व्यस्थापन समितिका अध्यक्ष कान्छामान तामाङ,वडा सदस्य कमला विक,सरस्वती थपलिया,राजनीतिक दलका स्थानीय प्रतिनिधि,शिक्षक,जनप्रतिनिधि,सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
चुखाको अन्र्तक्रिया र श्रव्यदृश्य अभिलेखीकरण
कार्यक्रममा तेमाल गापा वडा नम्बर २ का स्थानीय संस्कृतिविद्हरु ताम्बा संग्राम तामाङ,नेवार सहायक पुजारी नाराणय श्रेष्ठ,बोन्बो पञ्चनन्द तामाङ,मगर पुजारी विष्णु आलेमगर,लामा तेर्साङ लामा लगायतले आफ्नो समुदायको संस्कृति,तिनको वर्तमान अवस्था र संरक्षणका लागि गरिनुपर्ने पहलकदमीबारे बोल्नुभएको थियो ।
तामाङ समुदायको तर्फबाट ताम्बाको भुमिकाबारे संग्राम तामाङ,बोन्बोको भुमिकाबारे पञ्चनन्द तामाङ,लामाको भुमिकाबारे तेर्साङ लामा,नेवारको कुल पुजामा पुजारीको भुमिकाबारे नारायण श्रेष्ठ,आलेमगरको कुल पुजाबारे विष्णु आले मगरले प्रष्टाउनुभएको थियो । सबै स्थानीय संस्कृतिविद्हरुले संस्कृति पुस्तान्तरणमा समस्या आउन नदिन बेलैमा सचेत हुनेपर्ने धारणा व्यक्त गर्नुभयो ।
संस्कृति पुस्तान्तरणका लागि सहयोग पुग्ने अपेक्षासहित श्रब्यदृश्य छायांकन समेत गरिएको कार्यक्रममा स्थानीय विज्ञहरुले मौलिक संस्कृति लोप हुनेतर्फ चिन्ता प्रकट गर्नुभएको थियो । आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेका अध्यक्ष शिशिर दोङले कार्यक्रमको सहजिकरण गर्नुहुदै मान्छेको पहिचान र सभ्यता जोडिएको विषय संस्कृति रहेको भन्दै यसमा युवाको भुमिका खोतल्ने प्रयास गर्नुभएको थियो ।
धारणा राख्ने सबैको आवाज थियो-“कतै हामी बुझाउन चुक्यौं होला,कतै समय र हाम्रा संस्कृतिको संस्कृतिको सम्बन्ध बुझेनन् होला,यसमा हामी सबै उत्तिके जिम्मेवार छौं ।” संस्कृति र हाम्रा जीवन दर्शाउन महत्वपूणर् भु्मिका खेल्नेगरी श्रव्यदृश्य अभिलेखीकरणको सुरुवात गरेकोमा स्थानीय बुद्धिजीविहरुले खुसी व्यक्त गरेका छन् ।
वडा अध्यक्ष तिमाल सिं तामाङले जनताको आवश्यकता अनुसार सडक र खानेपानीलाई महत्व दिएपनि स्थानीय जनजाती विकासका कार्यक्रमलाई नभुलेको बताउनुभयो । उहाँले भन्नुभयो-“हामीले सकेको प्रयास गर्दै आएका छौं,यसअघि ल्होछार कार्यक्रम पनि गरेका थियौं,यो पटक स्थानीय संस्कृतिविद्हरुसँग अन्तरक्रियाका साथ यसको श्रव्यदृश्य अभिलेखीकरणको सुरुवात गरेका छौं,आगामी दिनमा यसमा थप चासो रहनेछ ।”
स्थानीय जातजातीको संस्कृति प्रवद्र्धनका साथै सांस्कृतिक पर्यटन विकासमा समेत टेवा पुग्ने यसखाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता उहाँले जनाउनुभएको हो । वडा सदस्य डिल्लीमान तामाङले संस्कृति संरक्षणका लागि यसखाले कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको संयोजन गर्नुभएका आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेका अध्यक्ष शिशिर दोङले वडावासीले पनि आगामी दिनमा वडा कार्यालयसँग सहकार्य आवश्यक रहेको बताउनुभयो । आयोजक सेलो फाउण्डेशनका अध्यक्ष जगत तामाङले संस्कृति प्रवद्र्धनका लागि २ नं. वडा कार्यालयसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । वडा नं. २ को कार्यालयले सकारात्मक सुरुवात गरेको बताउँदै उहाँले २ नं. वडाको सांस्कृतिक अवस्था उजागर गर्ने गरी डकुमेन्ट्री निर्माणको अवधारणा समेत रहेको जानकारी दिनुभयो ।
वडाध्यक्ष तिमाल सिं तामाङको प्रमुख आतिथ्यता,पूर्व गाविस अध्यक्ष संग्राम तामाङको विशेष अतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य एवं तेमाल गाउँ कार्यपालिका सदस्य पार्वती श्रेष्ठ,वडा सदस्य डिल्लीमान तामाङ,आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जापान शाखाका सल्लाहकार चसिला वाईबा,तामाङ पत्रकार संघका जिल्ला सदस्य चित्र तामाङ,स्थानीय शिक्षक,सामाजिक कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।