नमोबुद्ध संवाददाता,

पोखरी नारायणस्थान-काभ्रेको तेमाल गाउँपालिकाले बिहीबारदेखी सुरु गरेको आफ्नो नवौं गाउँ सभा मंगलबार सम्पन भएको घोषणा गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति,कार्यक्रम तथा बजेट पारित गर्दै अधिवेशन सम्पन्न भएको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

बागमती प्रदेश सभाबाट प्रतिपादित जिल्ला/नगर/गाउँ सभा सञ्चालन (कार्यविधि ऐेन) २०७५ अनुसार गाउँसभा सम्पन्न भएको पालिका अध्यक्ष तामाङको भनाई छ ।

पालिका अध्यक्ष तामाङले भन्नुभयो-“असार ४ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार हामीले असार १० गते संघीय कानुनमा व्यवस्था भएबमोजिम् आह्वान गरेको गाउँ सभा आरम्भको दिन पनि आउनुभएन,१३ गते पनि अनुपस्थित रहनुभयो,आज १५ गते आह्वान गरेको सभामा पनि समझदारीमा आउनुभएन,यत्तिकै बस्नु त भएन त्यसैले परिस्थिति अनुसार हामी यो निर्णयमा पुगेका हौं ।”

४८ सदस्यीय गाउँसभा रहेको तेमालमा नेकपा एमाले र एकिकृत माओवादी केन्द्रबाट निर्वाचित सदस्यहरू सभामा उपस्थित नभएपछि कम्तीमा २५ प्रतिशत सहभागि नघट्ने गरी सदस्यहरुबाट नीति, कार्यक्रम र बजेट पारित गरिएको उहाँको स्पष्टोक्ति छ ।

तेमाल गाउँपालिकाको गाउँसभा सञ्चालन कार्यविधि नबनेपनि बागमती प्रदेश सभाबाट प्रतिपादित जिल्ला/नगर/गाउँ सभा सञ्चालन (कार्यविधि ऐेन) २०७५ मा टेकेर विधिसम्मत ढंगले नै गाउँसभा सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले स्पष्ट पार्नुभयो ।

स्थानीय जनताको हित र स्वाभिमान प्रवर्द्धन गर्ने, प्रशासनलाई विकासमैत्री बनाउने,फजुल खर्च कटौती गर्ने जस्ता उद्देश्य राखी आ.व. २०७८/०७९ लाई कोभिडपछि आएको आर्थिक सुस्तताबाट बाहिर निकाल्ने अठोट सहित असार १० गते नीति तथा कार्यक्रम र १३ गते ४९ करोड ६४ लाख बराबरको बजेट पेश गरिएको थियो ।

पालिकाले बजेट अधिवेशन सम्पन्न गरिएको घोषणा प्रति एमाओवादी केन्द्र र नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष तथा गाउँसभा सदस्यहरुले भने असन्तुष्टि जनाएका छन् ।

पालिका उपाध्यक्ष दुर्गामाया तामाङले मंगलबार दिनभर सहमतिको प्रयास गरिएपनि सफल नभएको बताउनुभयो ।

“हाम्रो तर्फबाट अधिकतम लचकता अपनायौं तर उहाँहरु तेमालको जनताको विकासको एजेण्डाभन्दा पार्टीको निर्देशन तिर लाग्नुभयो,अल्झिएर बस्नुभएन,हामी प्रक्रिया सम्मत नै अघि बढ्यौं ।”-उहाँको भनाई छ ।

विहान भएको छलफलमा पालिका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष ज्ञान बहादुर तामाङले वादविवाद भन्दा विकासका लागि प्रतिस्पर्धामा उत्रिन,त्यसैअनुसार सहमतिको बाटो तय गर्नुपर्नेमा आफूले जोड दिएको बताउनुभयो । सहकार्यभाव नदेखिएपछि पालिका अघि बढेको प्रवक्ता तामाङको भनाई छ ।

तेमाल गाउँपालिकाको गाउँसभामा एमाले-माओवादीबाट २७ र अन्य काँग्रेसबाट उम्मेदवार भई जितेका गाउँसभा सदस्य छन् ।

तेमालको आ.व.२०७८/७९ को बजेट हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस !