- नमोबुद्ध संवाददाता,
पोखरी नारायणस्थान-काभ्रेको तेमाल गाउँपालिकाले असार १० गते बिहीबार पेश गरेको नीति तथा कार्यक्रममाथि छलफलका लागि पुनः गाउँसभा आह्वान गरेको छ । नवौं गाउँ सभाको सुरुवातमा पालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि पेश गरेको नीति, कार्यक्रममाथि छलफलका लागि यहि असार १३ गतेलाई सभा तोकिएको हो ।
असार ९ गते बुधबार नै कार्यपालिका सदस्यहरुलाई अध्ययनका लागि हातहातमा वितरण गरेको नीति तथा कार्यक्रममाथि छलफलका साथै बजेट निर्माणमा तेमाल गाउँपालिका लागि परेको हो ।
पालिका उपाध्यक्ष दुर्गमाया तामाङले स्वागत मन्तव्य राखे लगत्तै पालिका अध्यक्ष सलाम सिं तामाङले आ.व. २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । सभामा उहाँले बिहिबारको सभा प्रारम्भ मात्र भएको बताउनुभएको थियो ।
४८ गाउँसभा सभासद् रहेको तेमाल गाउँपालिकामा आवश्यक छलफल र सहमतिमै नीति कार्यक्रम पारित गर्ने मनसाय पालिका अध्यक्ष तामाङको देखिएको छ । सभामा एमाले र माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँसभा सभासद् अनुपस्थित भएपछि उहाँले यो आशय व्यक्त गर्नुभएको हो ।
“पूर्वाधार र स्वास्थ्यमा अग्रगामी, समृद्ध तेमालको चिनारी” भन्ने उद्देश्यलाई निरन्तरता दिदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको पालिकाको अर्को सभा असार १३ गतेलाई तय भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले जानकारी दिनुभयो ।
स्थानीय जनताको हित र स्वाभिमान प्रवर्द्धन गर्ने, प्रशासनलाई विकासमैत्री बनाउने,फजुल खर्च कटौती गर्ने जस्ता उद्देश्य राखी आ.व. २०७८/०७९ लाई कोभिडपछि आएको आर्थिक सुस्तताबाट बाहिर निस्कने अठोट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।
भिडियो सहित :