
नमोबुद्ध संवाददाता,
पोखरी नारायणस्थान-काभ्रेको तेमाल गाउँपालिकाले बिहहीबार आफ्नो नवौं गाउँ सभा सुरु गरेको छ । पालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट स्वीकृतिका लागि गाउँ सभा सुरु गरेको हो । गाउँसभाको सुरुवात गर्दै पालिका अध्यक्ष सलाम सिं तामाङले आ.व. २०७८/०७९ को लागि नीति तथा कार्यक्रम पेश गर्नुभयो ।
स्थानीय जनताको हित र स्वाभिमान प्रवर्द्धन गर्ने, प्रशासनलाई विकासमैत्री बनाउने,फजुल खर्च कटौती गर्ने जस्ता उद्देश्य राखी आ.व. २०७८/०७९ लाई कोभिडपछि आएको आर्थिक सुस्तताबाट बाहिर निस्कने अठोट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
पालिकाले तेमालको आर्थिक स्रोतको मुहानको रुपमा बोधिचित्त रहेको उल्लेख गर्दै यसको प्रवर्द्धन गर्न माला खेती र निकासीमा सहजिकरण गर्ने नीति लिएको छ । यसका साथै तरकारी र फलफूल खेतीमा पनि जोड दिइएको छ ।
कृषिका लागि सिञ्चाई,फलफूलको विरुवा वितरण,माटो परीक्षण, पशुपालनमा अनुदान,तालिम, यससम्बन्धी आधारभूत सेवा वडा स्तरमै दिलाउने प्रतिवद्धता पनि जनाएको छ । साथै पालिकाले अनुदानका मल,विउविजन अभाव हुन नदिने नीतिलाई निरन्तरता दिएको छ ।
पर्यटन विकास, शैक्षिक सुधार,युवा तथा खेलकुद विकास, स्वास्थ्य सेवा, खानेपानी जस्ता क्षेत्रगत विकासका साथै बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी पूर्वाधार विकासमा सडकको स्तरोन्नति गर्न प्राथमिकता दिएको उल्लेख छ ।
वातावरणको संरक्षणका लागि वातावरण सम्बन्धी नीति, फोहोर मैला तथा सरसफाई सम्बन्धी नीति,विपद व्यवस्थापन नीति, लैंगिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रम, वित्तीय व्यवस्थापन नीति,सूचना तथा सञ्चार नीति समेत सार्वजनिक गरिएको छ ।
“पूर्वाधार र स्वास्थ्यमा अग्रगामी, समृद्ध तेमालको चिनारी” भन्ने उद्देश्यलाई निरन्तरता दिएको जनाउँदै पालिका अध्यक्ष तामाङले कोभिड-१९ को न्युनिकरणका लागि अग्रपङ्क्तिमा खटिने कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले बितेको चार वर्षमा वडा कार्यालयहरु तथा गाउँपालिकाको प्रशासकिय भवन निर्माण,सडकको नयाँ ट्रयाकको विकास र पुराना सडकहरुको मर्मत एवं स्तर सुधार,सीप विकास र क्षमता विकासका कार्यक्रम,कृषि तथा पशु विकासका कार्यक्रम र पछिल्ला समय कोभिड-१९ को संक्रमित व्यक्तिको उपचार तथा आइसोलेसन व्यवस्थापन सम्मको काम गरेको स्मरण गराउनुभयो ।
नीति तर्जुमा अन्तर्गत पालिकाले हालसम्म २१ वटा कानुनहरु निर्माण गरी कार्यान्वयनमा आएको उल्लेख गर्दै उहाँले न्यायिक समितिको कामको प्रशंसा गर्नुभयो । नेपालको संघीय नीति तथा कानुन अनुसार असार १० गतेभित्र नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपरे भएकोले सोहि अनुसार सभा आयोजना गरिएको स्पष्ट पार्दै पालिका अध्यक्ष तामाङले पालिकाका सबै सभा सदस्यहरुबीचको छलफलबाट बजेट आउने बताउनुभयो । उहाँले यसै सिलसिलामा नीति तथा कार्यक्रम सबै सदस्यहरुमाझ पठाएको जानकारी दिनुभयो ।
उपाध्यक्ष दुर्गामाया तामाङले स्वागत मन्तव्य राख्दै पालिकाको नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गर्ने तय भएको र बजेट बनाउने क्रममा रहेको जानकारी दिनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले तेमाल गाउँपालिकाको आ.व. २०७८/०७९ को नीति कार्यक्रम अब छलफलमा गएको उल्लेख गर्दै अर्को सभा यहि असार १३ गतेका लागि आह्वान गर्नुभयो । बिहीबार सार्वजनिक नीति तथा कार्यक्रममाथि आवश्यक छलफलका लागि १३ गतेको लागि सभा तोकिएको हो ।
सभामा पेश आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम हेर्नुहोस् ।