• नमोबुद्ध संवाददाता,

चौंरीदेउराली–काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ५, चौंरीका दलितहरुलाई, सुधारिएको आरान, आर्थिक अनुदान र पञ्चेबाजा वितरण गरेको छ । चालु आर्थिक वर्षको वडाको दलित उत्थन तथा आय अर्जन योजना अन्तर्गत यसरी वितरण गरिएको हो । वडा अध्यक्ष राजकुमार गौतम (आयुश)ले हालै वडा कार्यालयमै बोलाएर यहाँका दलित समुदायका लागि आर्थिक अनुदान र बाजा वितरण गर्नुभएको हो ।

दलितहरुलाई कर्नल २ थान, सनाई २ थान, २ वटा दमहा, ट्याम्को १ थान, ढोलक १ थान, झ्याम्टा १ जोडी लगायतका बाजाका सामाग्री वितरण गरिएको थियो । दलित समुदायको आय अर्जनमा टेवा पनि पुग्ने र परम्परागत बाजागाजा सँस्कृतिको पनि संरक्षण गर्ने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष गौतमले बताउनुभयो ।

‘दलितलाई आत्मनिर्भर बनाउन आयअर्जनको बढाउन हामीले यस्तो योजना बनाएका हौं ।’ गौतमले भन्नुभयो, ‘दलित समुदायको आय अर्जनमा टेवा पनि पुग्ने र परम्परागत बाजागाजा सँस्कृतिको पनि संरक्षण गर्ने उद्देश्यले हामीले उहाँहरुलाई चाहिने बाजागाजाका सामग्री वितरण गरेका हौं ।’

त्यसैगरी सो कार्यक्रममा प्रति आरान ५० हजार रुपैयाँ बराबरको मुल्य पर्ने सुधारीएको आरण ३ ठाउँमा वितरण गरिएको थियो ।
परम्परागत आरानलाई विस्थापित गरि आधुनिक आरानको व्यवस्थापन गर्न आफूहरुले सुधारीएको आरान वितरण गरेको वडा अध्यक्ष गौतमले बताउनुभयो ।

त्यस्तै दलितहरुको दुई वटा बंगुर पालन फर्मलाई पनि २ लाख रुपैयाँ रकम अनुदान दिएको छ । सो क्रममा चौंरीदेउराली बंगुर फर्मका लागि १ लाख ५० हजार रुपैयाँ, सुलिकोट बंगुर फर्मलाई ५० हजार रुपैयाँ रकम अनुदान दिएको थियो । आय अर्जनसँग प्रत्यक्षरुपमा जोड्दै आत्मनिर्भर र स्वरोजगार सिर्जना गर्न अनुदानको कार्यक्रम पनि ल्याएको वडाध्यक्ष गौतमले स्पष्ट पार्नुभयो।

‘हामीसँग परम्परागत शिप मात्र छ, जसको कारण व्यबसायीक रुपमा बंगुर पालन गर्न सकेका छैनौं । दलित समुदायलाई हामी स्वरोजगार बनाउदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन चाहन्छौं ।’ वडा अध्यक्ष गौतमले भन्नुभयो, ‘बुंगुर पालनलाई आाधुनिक र व्यवसायिक बनाउन उहाँहरुलाई अनुदान दिएका छौं । हाम्रो सानो सहयोगले उहाँहरुलाई टेवा पुग्छ भन्नेमा विश्वास गर्दछौं ।’

यसैबीच आफ्नो समूहलाई बाजागाजा पाएपछि हिराबहादुर नेपाली खुशी देखिनुभयो । बाजागाजाको अभावका कारण परम्परा र सँस्कृति नै जोखिममा रहेको बेला यसरी बाजागाजा पाएपछि उहाँ खुसी हुनुभएको हो । ‘बाजागाजा नभएर हाम्रो आय अर्जन नै धरापमा परेको थियो ।’ नेपालीले भने, ‘अब परम्परा र सँस्कृति पनि जोगिने भयो, आय अर्जन पनि बढ्ने भयो ।’

त्यसैगरी स्थानीय सरोज रसाईली पनि आधुनिक र सुधारीएको आरान पाएपछि खुशी हुनुहुन्छ । एकातिर स्वरोजगार हुने र अर्को तिर सुधारीएको आरानले बढी काम गर्न सक्ने भएकोले आरान दिएकोमा वडा कार्यालयलाई धन्यवाद समेत दिनुभयो ।

‘किसानहरु कृषि औजार बनाउन शहर तिर धाउन थाले । हामीसँग परम्परागत आरान मात्र थियो ।’ खुशी हुँदै रसाईलीले भन्नुभयो, ‘अब त्यस्तो समस्या आउँदैन । आरान पाएपछि पेशा र आय अर्जन बृद्धि भइ स्वरोजगारको ग्यारेन्टी भयो । वडा वडा अध्यक्ष ज्यूलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस !