- नमोबुद्ध संवाददाता,
काभ्रे-प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर अब प्रदेश सरकारहरुमा प्रत्यक्ष रुपमा देखिन थालेको छ ।
यसैक्रममा वागमती प्रदेश सरकारका विरुद्ध शुक्रबार अविश्वासको प्रस्ताब दर्ता भएको छ । नेकपाका ४५ जना प्रदेश सांसदहरुको हस्ताक्षर सहित ११ः२५ बजे प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताब पेश भएको हो।
अविश्वासको प्रस्तावको प्रस्तावकमा शालिकराम जमकट्टेल र समर्थकमा अरुण नेपाल हुनुहुन्छ ।
त्यसैगरि प्रचण्ड-नेपाल समुहका सांसदहरुबाट प्रदेशको मुख्यमन्त्रीमा अष्ट लक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको वागमती प्रदेश सांसद रत्न ढकालले जानकारी दिनुभयो ।
३ मन्त्रीद्वारा राजीनामा
यसैबीच सरकारको विरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु अघि प्रचण्ड–नेपाल पक्षका ३ प्रदेश मन्त्रीहरुले राजीनामा दिएका छन् ।
राजीनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, सँस्कृति तथा पर्यटन मन्त्री अरुण नेपाल हुनुहुन्छ ।
मुख्यमन्त्री डोरमणी पौडेलको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै उहाँहरुले राजीनामा दिनुभएको हो ।
काभ्रेबाट प्रचण्ड-नेपाल पक्षका दुई सांसदको हस्ताक्षर
मुख्य मन्त्री पौडेलका विरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमा काभ्रेबाट दुई जना प्रदेश सांसदहरुले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षर गर्ने सांसदहरुमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १ का सांसद रत्न ढकाल र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा१ का लक्ष्मण लम्साल हुनुहुन्छ।
काभ्रेबाट निर्वाचित ५ प्रदेश सांसद मध्ये अहिले २ सांसद प्रचण्ड-नेपाल समुहमा खुलेर लाग्नुभएको हो । यसमा ढकाल पुष्पकमल दाहाल प्रचण्ड पक्षका र लम्साल माधवकुमार नेपाल पक्षका हुनुहुन्छ ।