-
नमोबुद्ध संवाददाता,
काठमाडौँ – २००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको कमाण्डमा बिना रक्तपात राणाशासनको हातबाट भोजपुर जिल्लालाई मुक्त गरेको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आएको मुक्ति दिवस यो पटक पनि मनाइएको छ ।
मङ्सिर २४ गते मुक्ति दिवस मनाउने सिलसिलामा बुधबार नक्सालस्थित द होप हर्मिटेजमा आश्रित अल्जाइमरपीडित जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । साथै मस्तिष्घातबाट पीडित युवा पवन कार्कीलाई औषधि लगायतका सस्थ्य सामग्री प्रदान गरी मुक्ति दिवस मनाइएको हो ।
रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा रामप्रसाद राईकी छोरी र बुहारीका हातबाट द होप हर्मिटेजकी सञ्चालिका दीपा देवानलाई न्यानो कपडा र औषधि प्रदान गरिएको थियो।
प्रतिष्ठानका उपाध्यक्ष पासाङदोर्ची शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार पारुहाङ राई, महासचिव देवान राई, सदस्य ई. सञ्जीव रोकाहा लगायतले जननायक रामप्रसाद राई र मुक्ति दिवसबारे प्रकाश पार्नुभएको थियो ।