नमोबुद्धमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान
- नमोबुद्ध संवाददाता
भकुण्डेबेशी–बागमती प्रदेशका सांसद चन्द्र लामाले लैंगिक हिंसा न्युनिकरणमा महिला अग्रसरतामा जोड दिनुभएको छ । सांसद लामाले समाजमा देखिएका भन्दा नदेखिएका हिंसा बढी रहेको बताउँदै त्यसको अन्त्यमा महिलाहरुले मुख खोल्न आवश्यक रहेको बताउनुभयो । हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्दै उहाँले महिला सशक्तिकरण बढेसँगै हिंसा न्युनिकरणतर्फ जाने उल्लेख गर्नुभयो ।
महिला सशक्तिकरणका लागि आफ्नो तर्फबाट विगतमा पनि पहलकदमी भएको र आगामी दिनमा पनि सक्रियतापुर्वक लागिपर्ने लामाको प्रतिवद्धता छ । काभ्रे क्षेत्र नं.१(ख)बाट निर्वाचित लामाले नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन समारोहलाई बिहिबार सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । साथै उहाँले नमोबुद्ध नगरपालिकाको चौतर्फी विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
लैंगिक हिंसा न्यूनिकरणका लागि नगरस्तरीय लैंगिक हिंसा तत्काल उद्धार तथा राहत समितिका अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले महिला सशक्तिकरणका कुरामा नमोबुद्ध नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । अब गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उनले उद्यमशिलतालाई जोड दिनुपर्ने बताउनुभयो । महिलामैत्री, वातावरणमैत्री नगर बनाउन नीति तथा कार्यक्रममार्फत कार्ययोजना तयार पारेर कार्यान्वयनमा गएको तिमल्सिनाको भनाई छ ।
यस्तै उपप्रमुख एवं नगरपालिकाको न्यायिक समिति संयोजक रामदेवी तामाङले हिंसामा परेका महिलालाई संरक्षणका लागि नगरपालिका क्रियाशिल भएको बताउनुभयो । अब रुने होइन संघर्ष गर्दै अघि बढ्ने समय आएको भन्दै उहाँले आफूले एकल महिला, हिंसापीडित महिलाका लागि विशेष अभियानसहित अघि बढेको जानकारी दिनुभयो । लैंगिक हिंसामुक्त नगर बनाउने अभियान थालिएको नगर प्रमुख तामाङले बताउनुभयो । उहाँले हिंसापीडित महिलाका लागि सेफ हाउस सञ्चालन गरिएको, महिलाहरुका लागि विभिन्न तालिमसहित आयआर्जनका कार्यमा सहयोग पुर्याउन अग्रसरता लिइएको उल्लेख गर्नुभयो ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अधिकारमा आधारित विकासको अवधारणाअनुसार काम गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले अब नगरपालिकामा हिंसाविरुद्धको सशक्त अभियान सुरु भएको पनि दावी गर्नुभयो ।
कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेमा लैंगिक हिंसाको अवस्था, हिंसापीडित महिलाका लागि कानुनी उपचारको व्यवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।