पक्की सडक हस्तान्तरण, भु–सेवा केन्द्र उद्घाटन

  • नमोबुद्ध संवाददाता,

भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो सातौं स्थापना दिवस मंगलबार मनाएको छ । स्थापना दिवसमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाले केक काटेर नगरका सबैमाझ खुसीको सञ्चार गराउनुभयो । साथै नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भएगरेका कामहरु समेटिएको पुस्तक ‘जनप्रतिनिधिका तीन बर्ष’ बिमोचनका साथै नगरको विकासमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।

सञ्चारकर्मी शिव अधिकारी, समाजसेवी एवं व्यवसायी कुमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाई विशेष सम्मान गरिएको थियो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलाई नगरको समृद्धि र प्रशासनिक कार्य एवं सुशासनमा योगदान दिएवापत विशेष सम्मान गरियो भने उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्ट वडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं. १ र वडा नं. २ लाई सम्मान गरिएको हो । यसैगरी वडा कार्यालय निर्माणका लागि जग्गा दिने गोविन्द घिमिरे, रामकृष्ण श्रेष्ठ तथा दुईवटा सडक उपभोक्ता समितिलाई समान गरिएको थियो ।

यस्तै कोरोना भाइरस नियन्त्रण र रोकथाममा सक्रिय एम्बुलेन्स चालक पन्चलाल श्रेष्ठ, सवारीचालक ङेमा लामा, कार्यालय सायोगी सीता खड्का, प्रविण अधिकारी, हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्य, गंगाराम तिमल्सिना, सिडियर अहेब कल्पना अधिकारी, स्टाफ नसै शर्मिला प्रजापति, बिना श्रेष्ठ, कम्प्युटर अपरेटरहरु राजीव श्रेष्ठ, श्याम खनाल, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, डाक्टर रामशरण श्रेष्ठ नमोबुद्ध गुम्बा, समाजसेवी वाङचुक राप्तेन लामा, गैरसरकारी संस्था सिप्रेड, वडा अध्यक्षहरु उद्धवप्रसाद काफ्ले, धर्मसिं लामा, रामकृष्ण उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।

पक्की सडक हस्तान्तरण, भु–सेवा केन्द्र उद्घाटन

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकै अवसरमा नगरपालिकामा भु–सेवा केन्द्रको उद्घाटन गरिएको छ । यसैगरी नगरपालिकामा सघन शहरी विकास आयोजनाबाट निर्माण भएको भकुण्डे–दारेगौंडा–नास्पातीबोट सडक उद्घाटनसँगै हस्तान्तरणसमेत गरिएको छ । यसैगरी नमोबुद्ध नगरपालिका ४ मा निर्माण भएको कवर्ड हल नगरपालिकालाई सोही अवसरमा हस्तान्तरण गरिएको छ ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले पक्की सडक र भु–सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । यसैगरी बास्कोटाले नमोबुद्धको नगरझण्डा झण्डोत्तोलन गर्दै सार्वजनिक गर्नुभयो ।

कार्यक्रमकै अवसरमा नमोबुद्ध ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेको बेला हत्या गरिएकी रञ्जना अधिकारीको छोरालाई पठनपाठनका लागि ३० हजार, नमोबुद्ध नगरपालिका वडा नं. १० की तत्कालिन कर्मचारी स्वर्गीय नरकुमारी घोरासैनीको परिवारका सदस्यलाई २५ हजार तथा नमोबुद्ध नगरपालिका वडा नं. ९ का तत्कलिन वडा सचिव स्वर्गीय श्रीराम सत्यालको परिवारलाई कर्मचारी कल्याण कोषबाट १ लाख ८७ हजार ८५ रुपैयाँ आर्थिक सहायता पनि प्रदान गरिएको छ ।

प्रदुषणजन्य उद्योग विस्थापन सकारात्मक कदम : बाँस्कोटा

कार्यक्रममा प्रमुख अतिथि एवं पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाल भकुण्डे बजारमा रहेका प्रदुषित उद्योग विस्थापन सकारात्मक कदम भएको भन्दै खशी व्यक्त गर्नुभयो । इँटा उद्योग विस्थापन पनि भकुण्डे क्षेत्रको वातावरण स्वच्छ बनेको पनि बताउनुभयो ।

नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणका क्षेत्रमा पनि धेरै काम भएको भन्दै उहाँले अहिलेको कार्यकालमा रहेका जनप्रतिनिधिले विकासको जग बसाल्ने र अर्को कार्यकालमा आउनेले त्यसलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको बताउनसभयो । खानेपानीको समस्या रहेको नमोबुद्धमा पानी व्यवस्थापनका लागि संघीय सरकारले पनि विशेष पहल गरिरहेको उहाँको भनाई छ ।

यो बर्षमात्रै काभ्रे क्षेत्र नं. १ मा ११ वटा विद्यालय निर्माण भएको भन्दै उहाँले नगरको समग्र विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

भकुण्डे क्षेत्र बैँक, विद्यालय, कलेज, अस्पताल, होटल तथा रेष्टुरेन्टलगायतको सेवा क्षेत्रको रुपमा विकसित हुन सक्ने भएकोले यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर दोङले बजारमा दुई तिहाईको वर्तमान सरकारले केही काम गर्न सकेन भनेर बेतुकको हल्ला मच्चाएको बताउनुभयो । नेकपाको सरकारले गरेका कामहरु सुरुवात मात्रै भएको बताउँदै आगामी दिनमा विकास निर्माणका धेरै कामहरु हुने उहाँको भनाई छ ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनताको अपेक्षाअनुसार काम गरिरहेको र सबै पक्षको सकारात्मक सहयोगबाट समृद्धिको सपना पुरा हुने बताउनुभयो । उहाँले नगरभित्र सडक, खानेपानी, शिक्षा स्वास्थ्य लगायत विकासका क्षेत्रमा नगरपालिकाले विशेष जोडसहित नीति कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद चन्द्र लामा, रत्न ढकाल, गोमा भुर्तेल, संविधान सभा सदस्य रामहरि सुवेदी, पूर्वमन्त्री तथा संविधान सभा सांसद रेशम लामालगायतले समसामयिक राजनीतिक गतिविधिको बारेमा भनाई राख्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले स्वागत मन्तव्य राख्नुभयो भने प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरको समग्र अवस्थाबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !