
-
शिशिर दोङ,
तेमाल–बिहानैदेखि हुस्सु अनि सिमसिमे पानी, हिलाम्य बाटो । छाता ओढ्दै यस्तै बाटो झरे तेमाल–२ चुखा गाउँका स्थानिय महिलाहरु जन उद्दार प्राबिको आँगनमा । त्यसैमध्ये हतार हतार घरधन्दा सकाएर आएकी हुन् बोइमो तामाङ ।
“कता कता सुनेको मात्रै थिएँ,आज आफैं सहभागि हुन आएँ ।”–उनले भनिन् । यहाँकै स्थानीय मिलिजुली कृषक समुहले सिस्नुको पाउडर प्रशोधन गरी स्थानीयको आर्थिक जीवनस्तर उकास्ने सोच बनाएको रहेछ । तीनै योजना अनुसार आयोजना गरेको काभ्रेमै पहिलो ‘सिस्नु पाउडर प्रशोधन तालिम’ मा सहभागि हुन आएका हुन् दैनिक खेतीपाति र घरधन्दामा सिमित महिलाहरु ।
“तरकारी बाहेक अन्य पेशा व्यवसाय नगरेका यहाँका महिलाहरुलाई सिस्नुको महत्व थाहा रहेछ”,कृषक समुहकी कोषाध्यक्ष शान्ता लामाले भनिन् –“स्थानीयको आम्दानीको दायरा फराकिलो पार्न सिस्नु पाउडर प्रशोधन कार्यको योजना बढाएका हौं ।”
सिस्नु मुटुरोग, दम,हाड जोर्नी, बाथ रोगका बिरामिहरुका लागि औषधितुल्य हुने भएकोले नेपालमा यसको माग अनुसार आपूर्ति हुन सकेको छैन । बजारको सम्भावना देखेपछि यहाँका स्थानीय सिस्नु पाउडर उत्पादनप्रति आकर्षित हुन थालेका हुन् ।
सिस्नु पाउडरको मुल्य बजारमा गुणस्तरको आधारमा प्रती किलो पाँच सय देखि दुई हजार रुपैयाँसम्म रहेको उल्लेख गर्दै प्रशिक्षक सञ्चित आलेमगरले यसलाई उद्योगको रुपमा स्थापित गर्न आवश्यक रहेकोमा जोड दिन्छन् ।
यसमा तेमाल गाउँपालिका,युएनडिपिको सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र काभ्रेको साझेदारीले स्थानिय हौसिएका छन् । शान्ति जनआदर्श सेवा केन्द्रका सचिव राजेन्द्र प्रसाद अधिकारीले दुर्लभ व्यवासायिक सीपमुलक तालिमहरु मध्ये सिस्नुको पाउडर प्रशोधन तालिम जिल्लामै पहिलो पटक भएकोले उत्साह जागेको बताए । स्किल नेपालका फिल्ड निरीक्षक डम्बर थापामगरले पनि यो तालिमको सहजिकरण गर्दैछन् ।
कोरोना भाइरस संक्रमणको अवस्था नहटेकोले भौतिक दुरी कायम राख्दै मास्क र सेनिटइजरको प्रयोग अनिवार्य गराएर तालिम सञ्चालन गरेको तालिम व्यवस्थापन समुहका सचीव कृष्ण बहादुर श्रेष्ठले स्पष्ट पारे ।
आइतबारसम्म चल्ने तालिममा २५ जना स्थानीय सहभागि छन् । तालिमपछि सिस्नु पाउडर प्रशोधनमा लाग्ने स्थानिय महिलाहरुको प्रतिवद्धता छ ।