
-
विजय कुमार जिम्बा,
काभ्रे–जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–१ र ३ का दुई क्यान्सर पीडितको उपचारका लागि जापानमा बस्ने नेपालीहरुले पठाएको सहयोग रकम हालै हस्तान्तरण गरिएको छ । त्यहाँस्थित नेपालीहरुले संकलन गरी पठाएको २ लाख ५० हजार ७ सय २८ रुपैयाँ आर्थिक सहयोग बाग्मती प्रदेश सांसद चन्द्र लामा र नेकपा वागमती प्रदेशका सदस्य इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
तामाङ समाज जापनका महासचिव बलराम लामाको संयोजकत्वमा त्यहाँको तामाङ समाजबाट संकलित ७९ हजार येन र अन्य सहयोगीहरुबाट संकलित १ लाख ३६ हजार ७ सय ५१ येन गरी २ लाख १५ हजार ७ सय ५१ येन (२ लाख ३८ हजार ७ सय २८ नेपाली रुपैयाँ) रकम नेपाल पठाएको थियो । त्यसमा सांसद लामाले १२ हजार रकम व्यक्ति रुपमा थप गरी विरामी थिङ र गोलेका परिवारलाई बराबर बाँडेर हस्तान्तरण गर्नुभयो ।
संकलित सहयोग रकम हस्तान्तरण गर्दै प्रदेश सांसद लामाले यस्तो गम्भीर प्रकृतिको रोग कसैलाई नलागोस् भन्ने कामना गर्दै यस्तो अवस्थामा सहयोग गर्ने सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो । सांसद लामाले व्यक्तिगत,संस्थागत रुपमा सहयोगका लागि खेल्नुपर्ने भुमिका र साथ सहयोग अगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खानीखोला–३ स्थित सौरेका २५ वर्षीय क्यान्सर पीडित दिनेश थिङलाई र वडा नम्बर १ धार्नेका ५१ वर्षीय फुलमाया गोलेका परिवारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । गोलेको भने निधन भइसकेकोले श्रीमान गोपीलाल थिङलाई सहयोग हस्तान्तरण गरिएको थियो ।
विगत दुई महिना अगाडीदेखि खुट्टा र पाठेघरको क्यान्सर पीडत गोलेको अस्पतालमा उपचारको क्रममा गत भदौ २२ गते निधन भएको थियो । उहाँको उपचारमा करिब १० लाखभन्दा बढी खर्च भएको र परिवारको अवस्था नाजुक भएकाले संकलित रकम काजक्रिया लगयातको कार्यमा राहत पुगोस् भनी मृतकको श्रीमानलाई हस्तान्तरण गरिएको बताइएको छ ।
त्यस्तै ३ महिना अघिदेखि पेटको क्यान्सरबाट पीडित दिनेश थिङ ललितपुरस्थित विएण्डवि अस्पतालमा उपचाररत हुनुहुन्छ ।
सहयोग हस्तान्तरण कार्यक्रमा नेकपा जिल्ला कमिटी सदस्य मिना पाख्रिन ‘अनु’, राजन अधिकारीसँगै रामशरण खुलाल, भोज बहादुर खुलाल, सुवर्ण थिङ लगायत पनि हुनुहुन्थ्यो ।