• नमोबुद्ध संवाददाता,

तेमाल– काभ्रेको तेमाल गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पुर्ण विद्यालयहरुमा यहि असोज ६ गतेदेखी पठनपाठन सुचारु गर्ने तयारी थालेको छ । संघीय सरकार,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम तेमाल सरकारले विद्यालय हातामा सञ्चालित क्वारेन्टाइन कक्ष हटाएर पठन पाठन सुचारु गर्ने तयारी थालेको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

स्वास्थ्य सावधानी अपनाएर,भौतिक दुरी कायम राख्दै पढाई सञ्चालन गर्ने अध्यक्ष तामाङले बताउनुभयो । “विद्यालय निर्मलीकरण थालेका छौं,यो काम सकेपछि ६ गतेबाट नै विद्यालय चलाउछौं ।”–पालिका अध्यक्ष तामाङले भन्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले गाउँपालिको तयारी अनुरुप स्थानीय विद्यालयहरुले पढाई सुचारु गर्न आग्रह गर्नुभयो । असोज महिनाभित्रै २ पटक विद्यालयहरुको अनुगमन गर्ने जनाउँदै कुईंकेलले कुनै विद्यालयले पालिकाको निर्देशन अटेर गरे कारवाहीको प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो ।

“अब विद्यालय सञ्चालन गर्दा कुनै समस्या आउँदैन भन्ने मान्यता राखेका छौं, सोही मान्यता अनुसार गाउँपालिकाले निर्णय पनि गरेको छ,हामी कुनै अवरोधहरु आउन दिने छैनौं”,प्रतिवद्धतासाथ उहाँले भन्नुभयो–“स्वस्फूर्त रुपमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम सञ्चालन गर्नेछौं,तेमालको शिक्षालाई उच्च कोटीमा पुर्याउनेछौं,अब्बल शिक्षा बनाउनेछौं,यो तेमाल गाउँपालिकाको प्रमुख उद्देश्य हो ।”

विद्यालय कक्षा कोठा निर्मलीकरण सुरु

प्रत्येक ९ वटा वडास्थित विद्यालयमा क्वारेन्टाइन कक्ष बनाएको तेमाल सरकारले यी क्षेत्र सुरक्षित पार्न शुक्रबारदेखी निर्मलीकरण सुरु गरेको पालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताउनुभयो ।

पालिका केन्द्र पोखरी नारायणस्थानको नारायणस्थान माध्यमिक विद्यालयबाट सेनीटाइजर(डिसइन्फेक्सन स्प्रे) छर्किदै थालेको निर्मलीकरण असोज ५ भित्र सकाउने स्वास्थ शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिनुभयो ।

क्वारेन्टाइन कक्ष राखेका र नराखेका सबै गरी ४१ वटा विद्यालयमा निर्मलीकरण कार्यक्रम गर्ने उहाँले स्पष्ट पार्नुभयो । प्रमुख पाठकका अनुसार प्रत्येक विद्याललाई मास्क,सेनिटाइजर र हात धुने सावुन पनि वितरण गर्न थालिएको छ ।

यसमा प्रत्येक माविलाई १० वटा डिटोल सावुन,मास्क ३०० देखी ५०० को हाराहारीमा,सेनिटाइजर ३ वटा,प्रत्येक आवि र प्राविलाई २ वटा सेनिटाइजर,४ वटा सावुन तथा विद्यार्थी संख्याको आधारमा मास्क वितरण गर्न थालिएको हो ।

पठनपाठन वातावरण बनाउन तथा शिक्षक र विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन गाउँपालिकाले हरेक विद्यालयलाई विद्यार्थी अनुपातमा मास्क,स्यानीटाइजर र साबुन दिएको उहाँको भनाई छ ।

“माक्स लगाउँछु,१ मिटरको दुरी कायम गर्दै पढ्नेछु ।”

तेमाल गाँउपालिका भित्रका ती ४१ सामुदायिक विद्यालयमा हाल ३ हजार ४ सय २८ विद्यार्थी छन् । नयाँ शैक्षिक सत्रको पूर्वसन्धादेखीनै घरमा रहेका ती विद्यार्थी अव विद्यालय जानेछन् ।

पोखरीनाराणस्थान माविमा अध्ययनरत छात्रा पेमा लामाले विद्यालयमा गई पढ्न पाउने खबरले खुसी लागेको प्रतिक्रिया दिनुभयो । कोरोना सचेतनाबारे जानकारी रहेको उल्लेख गर्दै ५ कक्षा उक्लेकी ती छात्राले भन्नुभयो–“माक्स लगाउँछु,१ मिटरको दुरी कायम गर्दै पढ्नेछु ।”

“क्वारेन्टाइन कक्ष अन्यत्र सारेका मात्रै हौं,खारेज गरेका छैनौं”

कोरोना भाइरस निमुल भइनसकेको अवस्था रहेकोले तेमालमा क्वारेन्टान कक्ष विद्यालय क्षेत्रबाट अन्यत्र व्यस्थापन गरेको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो–“खारेज नै गरेकोचाँहि हैन,विद्यालयमा पठनपाठनको वातावरण बनाउन त्यो क्षेत्रबाट हटाएर अरु ठाउँमा सारेका मात्रै हो ।” स्थानीय सामुदायिक भवन लगायतका स्थानमा क्वारेन्टाइन कक्ष रहने उहाँले जनाउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार अब तेमालमा आवश्यकता अनुसार मात्रै क्वारेन्टाइन कक्ष हुनेछ । “आवश्यकता अनुसार भुगोल मिलाएर क्वारेन्टाइन कक्ष हुन्छ,हामीसँग १०५ वेडको क्वारेन्टाइन छ ।”

कोरोना नियन्त्रणमा आइनसकेको सनदर्भमा विदेशबाट फर्कनेक्रम जारी रहेकोले क्वारेन्टाइन कक्ष अझै आवश्यक रहेको उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस !