• नमोबुद्ध संवाददाता,

भुम्लु–नोवल कारोना भाइरस(कोभिड १९) को रोकथाम तथा जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका २५ ओटा स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । भुम्लु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, खोप केन्द्रमा हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको स्थापना गरिएको हो ।

भुम्लु गाउँपालिका कार्यालयसँगको समन्वयमा, वाटरएड नेपालको सहयोगमा स्थानीय कार्यान्वयन साझेदार सिविक फोरमले संचालन गरेको एचबिसिसी परियोजना अन्तरगत गाउँपालिका कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा यी स्टेशनहरुको स्थापना गरिएको हो ।

हालै भुम्लु गाउँपालिका, वडा नं.८ स्थित भुम्लुटार स्वास्थ्य चौकीमा स्थापना भएको हातधुने स्टेशनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले अत्यावश्यक स्थानीय ठाउँहरुमा राखिएको स्टेशनले धेरैभन्दा धेरैले फाइदा लिन सकिने बताउनुभयो । यस्ता स्टेशनको प्रयोगले कोरोना नियन्त्रणमा भुमिका खेल्ने उहाँको भनाई छ ।

उहाँले स्थानीय तह भुम्लु गाउँपालिका गैरसरकारी संस्थाहरुसँग निरन्तर समन्वयमा अघि बढ्ने बताउँदै आगामी दिनमा समेत विकासका कार्यहरुमा निरन्तर साथसाथै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !