• नमोबुद्ध संवाददाता,

धुलिखेल–बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका काभ्रेको महाभारत गाउँपालिका–३ सोलिघोप्टेका कान्छालाल योञ्जनको उपचारका लागि संघीय सांसद गंगाबहादुर दोङ(बमध्वज) र प्रदेश सांसद रत्न ढकालले हालै आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । सांसद द्धयका साथ नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रुप बहादुर योञ्जनसहितको टोलीले नेपाल नेशनल अस्पातलमा पुगेर २ लाख २ हजार ९ सय ७२ रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै संघीय सांसद दोङले विरामीको स्वास्थ्य लाभको कामनासहित उपचारको लागि आर्थिक सहयोगमा पहल तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै प्रदेश सांसद ढकालले १२ वर्षीय बालक योञ्जनको उपचारमा व्यक्तिगत तथा अन्य कुनै तबरबाट गर्न सक्ने र गर्नु पर्ने थप साथ तथा सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

योञ्जन गत साउन २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । टाउको र खुट्टाको तिघ्रामा गहिरो चोट लागेपछि स्थानीय बान्सिन्दमार्फत उपचारका लागि जिल्ला अस्पताल ल्याइएको योञ्जनलाई जिल्ला अस्पताल धुलिखेलले जिल्लामा कोरोना भाइरसको कारण उपचार गर्न नसकिने बताएपछि काठमाडौँ वीर हस्पिटलमा रिफर गरिएको थियो । तर त्यहाँ आइसियु खाली नभएपछि वीर अस्पतालबाट पनि कलंकीको नेपाल नशनल अस्पतालमा रिफर गरेको थियो ।

सहयोग आउनेक्रम जारी

घाइते योन्जनको टाउको र खुट्टाको अप्रेसन भए पनि पुर्ण रुपमा ठिक नभएको कारण पुनः फेरि अप्रेसन गर्नुपर्ने भएपछि आर्थिक समस्याको कारण उपचार हुन सकिरहेको थिएन । यो अवस्थालाई ख्याल गर्दै विभिन्न व्यक्ति,संस्था लगायतले सहयोग जारी राखेका हुन् ।

केही दिन अगाडि आर्थिक अभावका कारण दोस्रो अप्रेशन गर्न नसकेका योञ्जनलाई लाप्साङ पाख्रीनले संकलन गरेको रकम ५५ हजार ५ सय रुपैयाँ पूर्व मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य शेरबहादुर तामाङले हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाद्धारा हस्तान्तरण गरेको रकम रोजगारीको सिलसिलामा मलेसियामा रहेका राकेश भोलन र विजय थिङको पहलमा संकलन भएको थियो । उक्त १ लाख २ हजार ८ सय सहयोग र अध्यक्ष जिम्बा स्वयंमले ५ हजार रुपँया र महाभारत कन्ट्रक्सनतर्फबाट सुजन लामा र तस्वीर मोक्तानले संंयुक्त रुपमा ५ हजार रुपैयाँ गरी एकमुष्ट १ लाख १२ हजार ८ सय रुपैयाँ थियो ।

त्यसैगरी विद्यार्थी घेदुङका संघीय कार्यसमिति अध्यक्ष दिनेश लो तामाङले नगद १२ हजार ५ सय रुपैयाँ कान्छालालका बुवा ज्ञान बहादुर योञ्जनलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यार्थी घेदुङका पदाधिकारी तथा सल्लाहकारहरुबाट संकलन भएको रकम उहाँलाई हस्तान्तरण गरिएको थियो । युवा व्यवसायी देव लामाले पनि रु ५ हजार सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !