• नमोबुद्ध संवाददाता,

सस्र्यूंखर्क– चालु वर्षदेखी सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणलीबाट गर्ने योजना अनुसार काभ्रेको तेमाल गाउँपालिकाले छुटेकाहरुको खाता खोल्ने काम वडास्तरबाटैै सुरु गरेको छ ।

यस अनुसार सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने प्रक्रियामा प्रतिवद्ध वडा नम्बर १ को कार्यालय सस्र्यूंखर्कले बिहीबार भेला हुन लाभग्राहीहरुलाई अनुरोध गरेको थियो । सर्वसाधारणका लागि यसबारे सार्वजनिक सूचना जारी गरेको वडा कार्यालयले छुट भएका लाभग्राहीहरुको खाता खोल्ने कार्य बिहीबार सम्पन्न गरेको वडाध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“तेमाल गाउपालिका वडा न.१ सस्र्युंखर्कमा सामाजिक सुरक्षा भत्ता खाइरहनु भएका लाभग्राहीहरुलाइ आज सिटिजन बैंक तेमाल शाखाका प्रतिनिधिहरु वडामा उपस्थित भई छुट भएका करिव २९ जना लाभग्राहीहरुको खाता खोल्ने कार्य सम्पन्न गरिदिनुभएकोमा बैंक कर्मचारी लगायत सम्पुर्णमा वडाको तर्फबाट हार्दिक धन्यवाद ।”

यदि खाता खोल्न बाँकी अझै  छुटेको कोही भएमा तुरुन्त बैंकमा सम्पर्क गर्नहुन वडाध्यक्ष श्रेष्ठले अनुरोध गर्नभयो । उहाँले अब खाता खोल्न छुट भएमा भत्ता लिन समस्या आउनेतर्फ सचेत रहन लाभग्राहीहरुलाई आग्रह गर्नुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार अझै  छुटेको कोही भएमा खाता खोल्न बृद्धभत्ता बुझ्दै आएकाहरुले निजको नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा सक्कल,भत्ता पासबुक तथा सक्कल,पासपोर्ट साइजको फोटो ३ प्रति बुझाउनुपर्नेछ । दलित बालबालिका र अपांगता भएकाहरुले आफ्नो नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको फोटोकपी तथा सक्कल,पासपोर्ट साइजको फोटो ३ प्रति र भत्ता पासबुकको फोटोकपी तथा सक्कल लिएर बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

खाता खोल्न र यस प्रक्रियामा सघाउन बिहीबार पालिकाका कर्मचारी प्रतिनिधिका साथै बैंक कर्मचारीहरु सस्र्यूंखर्क पुगेका थिए । अन्य वडाहरुमा पनि खाता खोल्न छुटेका लाभग्राहीहरुमाझ यसैगरी नै पुग्ने योजना रहेको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो । योजना अनुसार असोज २ गते शुक्रबार वडा नं. २ को कार्यालय चुखामा खाता खोल्ने कार्य हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !