-
नमोबुद्ध संवाददाता
चैत्र २४, काभ्रे– जिल्लाको रोशी गाउँपालिकाको वडा नं. १ मा कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामको लागि ५ देखि ६ जना व्यक्ति मात्र भेला हुन पाउने लगायतका निर्णयहरु गरेको छ । वडाको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको रोशी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष श्रीदास लामा जानकारी दिनुभयो ।
नेपालमा कोरोना भाइरस संक्रमण दोस्रो चरण पुगेसंगै नागरिकलाई सुरक्षित राख्नका लागि सरकारले शनिबार मन्त्रीपरिषद्को बैठकमार्फत लकडाउनलाई कडाईका साथ लागू गर्नेे निर्णय गरेको थियो । त्यसको केहिदिनमै रोशी १ ले पनि कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अनावश्यक भिडभाड नगर्ने, ५ देखि ६ जना व्यक्ति मात्र भेला हुन पाउने ,भेलामा सामाजिक दुरी कायम गर्नुपर्ने, होटलहरु पूर्णरुपमा बन्द गर्ने, झरना तथा कुवामा जान बन्द गर्ने, जुवातास खेल्न बन्द गर्ने, एक वडाबाट अर्को वडामा जान रोक हुने निर्णय भएको अध्यक्ष लामाले बताउनु भयो ।
लामाका अनुसार किराना पसल भने बिहान ६ देखि १० बजेसम्म र बेलुका ४ देखि ७ बजे सम्म खोल्न पाइने भएको छ । त्यस्तै सवारीसाधनको हकमा अत्यावश्यक बाहेक एक स्थानबाट अर्को स्थानमा लिएर जान नपाईने भएको छ ।
आजैबाट कार्यान्वयन हुने यि निर्णयहरुको कडा रुपमा पालना गर्नका लागि सम्पूर्ण वडाबासीमा अध्यक्ष लामाले आग्रह गर्नुभयो ।