पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले एक वडा बाट अर्को वडामा जान रोक लगाउने निर्णय गरेको छ । कोरोना (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै पाँचखाल नगरपालिकाको ६२ औं बैठकले उक्त निर्णय गरेको हो ।

संघीय सरकारले निर्णय गरेको भोलिपल्टै पाँचखाल नगरकार्यपालिकाको ६२ औ बैठकले एक वडाबाट अर्को वडामा जान रोक लगाएको नगर प्रमुख महेश खरेलले जानकारी दिए । ‘एक वडा बाट अर्को वडामा जान रोक लगाउने नगरकार्यपालिकाको बैठकले निर्णय गरेको छ ।’ प्रमुख खरेलले भने, ‘तरकारी, दूध, औषधी र खेतबारीमा काम गर्ने कृषकलाई भने खुल्ला गर्ने निर्णय पनि भएको छ ।’ यो निर्णय सोमबार (भोलि)देखि लागु हुने खरेलले बताए ।

लकडाउन भए पनि स्थानीयले नियममा नबसेको भन्दै बैंठकले मदिरा जन्य पसलहरु सबै बन्द गराउने, वडा भित्र रहेका खाद्यान्न पसलहरु हप्तामा २ दिन सोमबार र शुक्रबार खोल्ने, नगरभित्र रहेका होलसेल पसल हप्तामा १ दिन सोमबारमात्र खोल्न पाउने समेत निर्णय गरेको नगर प्रमुख खरेलले जानकारी दिए ।

त्यस्तै बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम एवं सरसफाइमा नगरपालिकाबाट खटिने जनप्रतिनिधि, स्थायी, अस्थायी तथा करारका कर्मचारीको कोरोनाको कारण मृत्यु भएमा निजको परिवारलाई २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !