
-
कृतिका घलान
हाम्रो समाजमा विवाह भएको केहि समयपछि धारा पँधेरो, आफन्तहरुको गफगाफको विषय नै फलानोको बिहे भएको यति उति समय भयो किन बच्चा छैन, उसको स्वास्नीको गर्भवती भएन भन्ने हुन्छ । विशेषगरि महिलालाई नै दोष देखाउदै उसको स्वास्नीको केहि कमजोरी होला दुब्लो पातालो छे भन्ने गरेको पाउछौ । तर चिकित्सकहरु बच्चा बन्नका लागि महिला र पुरुष दुबैको प्रजनन् स्वास्थ्य स्वस्थ हुनुपर्ने बताउछन् । विश्वमा भएको अध्ययन, स्त्रीरोग विषेशज्ञहरुकै भनाईका आधारमा बच्चा हुनु नसक्नुका कारणहरु मध्येका एक पाठेघरको नलीको कारण कसरी बच्चा हुदैन, कसरी थाहा पाउन सकिन्छ र उपचार के छन् भनि चर्चा गछौ ।
महिलाको पाठेघरमा दुईवटा नलीहरु रहेको हुन्छ । महिलाहरुलाई महिनावरीको बिचतिर एउटा अण्डा निस्किन्छ । कुनै महिना दाहिने कुनै महिना देबे्रपट्टिको नलीबाट अण्डा निस्किन्छ । यसरी निस्केर अण्डा नलीमा आएर बस्छ । यो २४ घण्टासम्म नलीमा बस्छ । यो समयमा यौनसम्पर्क हुदाँ पुरुषको लाखौँ शुक्रकिटहरु महिलाको योनीमा बस्छ । तिमध्ये उत्कृष्ट शुक्रकिटले पाठेघरको नलीमा रहेको अण्डालाई भेट्टाई त्यही नलीमा बच्चा बनाउछ । नलीमा स साना रौँहरु रहेको हुन्छ ।नलीको आफ्नो चालले बच्चालाई धकेलेर महिलाको पाठेघरमा पु¥याउछ र पाठेघरमा १ हप्तापछि बच्चा पुग्छ । ति बच्चा पाठेघरको भित्तामा टाँसेर बच्चा नजन्माउन्जेल त्यहीँ बसेको हुन्छ ।
यहाँबाट के प्रष्ट हुन्छ भने बच्चा बन्ने मुख्य ठाँउ नली हो । यसरीको महिलाको पाठेघरको नली बन्द रहेको अवस्थामा उत्कृष्ट अण्डा, शुक्रकिट, पाठेघर भएपनि बच्चा बन्न सकिदैन । सामान्यतया हरेक छ जना जोडीहरुमध्ये १ जोडीमा बच्चा नहुने तथ्याङ्कले देखाएको छ । तर बच्चा नहुनका लागि सधै महिलाको कारण भने हुदैन । तर ३० देखि ४० प्रतिशतमा महिलाको कारणले बच्चा नहुने अध्ययनले देखाएको छ ।
महिलाको समस्याहरुमध्ये पाठेघरको नलीबन्द हुनु एक कारण हो ।यो कारणले ११ देखि ३० प्रतिशत महिलामा नलीबन्द भएर बच्चा नभएको पाईन्छ ।
कुन कुन कारणले पाठेघरको नली बन्द हुन्छन् ?
सबैभन्दा नलीको बन्द हुनुको कारण संक्रमण हो। सुक्ष्मजीवहरु विशेष गरि क्लामाइडिय र गोनोकोकसको संक्रमणका कारणले नलीका रौँहरु बिग्रिन्छ । नेपालको सन्दर्भमा टिबी (क्षयरोग)पनि एक कारणको रुपमा लिइन्छ । त्यो बाहेक धुमपानका कारणले पनि नलीका रौँहरुलाई बिगार्ने गर्दछ । पाठेघरको भित्री तह महिनावरी हुदाँ बाहिर निस्किदा उल्टो दिशा तिर गएर कहिलेकाँही नलीमा टाँसिन सकिन्छ । बच्चा सामान्यतया बस्ने ठाउँभन्दा नलीमा बच्चा बस्दा, मासु पलाउदा नलीलाई बन्द गरेको हुन्छ ।
नली बन्द भएको कसरी थाहा पाउने ?
कुनैपनि महिलामा गर्भवती नहुनुको पछाडि धेरै कारणहरु हुन्छन् । सबैभन्दा पहिले महिलाको अण्डाकोजाँच, पुरुषको शुक्रकिटको जाँच, पाठेघरको भिडियो एक्सरे गर्दछ । यी सबै जाँचहरु भएर ति सबै ठिक छ भने मात्र नलीको जाँच तर्फ लाग्छ । यसको जाँचलाई हिस्टेरोसालपिंगोग्राफी भनिन्छ । यो जाँचको माध्यमबाट नलीबन्द छ कि छैन, एउटा नली बन्द छ या दुबै नली बन्द छ वा छैन भनेर पत्ता लगाउने गर्दछ । अर्को जाँचको माध्यमबाट पनि नलीको बारेमा बुझ्ने गरेको पाइन्छ त्यो जाँचलाई सलाइन इन्फ्यूजन सोनोग्राफी भनिन्छ । ल्यापारोस्कोपी यो एउटा शल्यक्रिया विधिबाट जाँच्ने गर्दछ । यी बाहेक पनि थुप्रै जाँचहरु रहेको हुन्छ ।
अध्ययनका अनुसार नलीको दुई मुख्य भागहरुमध्ये अगाडिको भागमा १५ प्रतिशत र पछाडिको भागमा ८५ प्रतिशत बन्द हुने गरेको जनाएको छ । नलीको पछाडिको भाग तुलनात्मक रुपमा महत्वपूर्ण हुन्छ जसले अण्डाशयको नजिकै हुनुका साथै अण्डालाई समाउनलाई सहयोग गर्दछ ।
यसका लागि अहिले शल्यक्रियाको माध्यमबाट उपचार गरेको पाइन्छ । यो विधिबाट पनि बच्चा नहुन सक्छ त्यस्तो अवस्थामा स्त्री विशेषज्ञहरुले आइभिएफ विधिबाट बच्चा तयार गर्ने गरेको पाउछौँ । यो माध्यमबाट महिला गर्भवती हुने सम्भावना भने ६० देखि ७०प्रतिशत रहेको अध्ययनले देखाएको छ ।