• कृतिका घलान:

धुलिखेल – ‘नियमित खोप सुदृढीकरण गरि पूर्ण खोप राष्ट्र बनाऔ’ भन्ने नाराका साथ दादुरा रुबेला खोप अभियान २०७६⁄०७७ लाई सफल बनाउनका लागि जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालयले संचारकर्मीहरुसंग अन्तरकृया एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाका अनुसार देशव्यापी अभियानको रुपमा संचालित दादुरा रुबेला खोप अभियान काभ्रे जिल्लामा दुई चरणमा संचालन हुनेछ ।

पहिलो चरणमा चैत्र २ देखि १० गतेसम्म नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर, धुलिखेल नगरपालिका, रोशी, तेमाल, भुम्लु, चौरीदेउराली गाउँपालिका गरि ८ स्थानिय तहहरुमा संचालन हुनेछन् ।

दोस्र्रो चरणमा चैत्र १४ देखी २२ गतेसम्मका लागि बाँकी  स्थानिय तहहरु बनेपा, पनौती नगरपालिका, महाभारत, खानीखोला र बेथानचोक गाउँपालिकामा संचालन हुनेछन् ।

खोप तथा कोल्डचेन आपूर्ति तथा वितरण पहिलो चरण, फागुन २८ गतेदेखि कार्यक्रम सम्पन्न नहुन्जेलसम्म र दोस्रो चरण चैत्र १० देखि सुरु हुने बताउनु भएकोे हो ।

उहाँका अनुसार यस अभियानमार्फत जिल्लाको कुल ९ सय ६२ वटा खोपकेन्द्रबाट ३१ हजार ७ सय ९२ बालबालिकाहरुले दादुरा रुबेला खोप लिने छन्। जसमा १ हजार ९ सय २४ जना स्वयंसेवक र १सय ८७ जना स्वास्थ्य कार्यकर्ता परिचालित हुनेछन् ।

स्वास्थ्य कार्यकर्ताहरुका लागि आवश्यक तालिम समेत प्रदान गरिसकेको र ए.ई.एफ्.आई. व्यवस्थापनका लागि १३ वटा ठाउँमा १३ टिमको तयारी गरेको जानकारी दिनुभयो।

यस अभियानमा कोहि पनि बालबालिका दादुरा रुबेला खोप अभियानमा नछुट्टियोस भनेर ९ महिना देखि ५ वर्षमुनिका बालबालिका भएको घरघरमा गई निमन्त्रणा पठाइ ‘हेड काउन्ट’ गरिने बताउनु भयो ।

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको सेप्टेम्वर २०१९ को निर्णयानुसार सन् २०२३ सम्ममा दक्षिणपूर्वि एसियाबाट दादुरा रुवेला रोग निवारण गर्ने लक्ष्य रहेको छ । यस अभियानमा स्थानिय जनप्रतिनिधिहरुको पनि सक्रिय सहभागीता हुनाले यो अभियान विगतको भन्दा बढि प्रभाबकारी हुने स्वास्थ्य प्रमुख डा. झाको भनाई रहेको छ ।

स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको आव २०७५⁄०७५को वार्षिक प्रतिवेदनअनुसार, नेपाल सरकारको नियमित खोप कार्यक्रम अन्र्तगत दिईदै आएको दादुरा रुवेला देशभरिमा पहिलो र दोस्रो पटकगरि खोप संचालन गर्दा पनि दादुरा रुवेला पहिलो (१ वर्ष मुनिका) र दोस्रो (१५ महिनाका) डोज क्रमश ८१.३%र ६६.२% ले मात्र सहभागिता जनाएको छ ।

नेपाल जनसाङ्खिकिय तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार जिल्लामा राष्ट्रिय खोप अभियान अन्तर्गतको दादुरा रुबेला खोपको कभरेजलाई हेर्दा सहरी क्षेत्रमा उत्साहजनक रहेको तर ग्रामिण क्षेत्रमा यो दर मध्यम रहेको छ ।उहाँले यस विषयलाई आन्तारिक बसाईसराईले अन्तर देखिएको समेत स्प्रष्ट पार्नुभएको हो ।

अन्तरकृया कार्यक्रममा धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले यो अन्तिम पटकको अभियानमा सबै बालबालिकाहरुलाई सहभागी गराउन सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । साथै खोपबाट हुने कुनै किसिमका असरहरु देखा परेमा त्यसको समाधानका लागि धुलिखेल अस्पतालसंग सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !