नमोबुद्ध संवाददाता
काठमाडौं-कला, साहित्य र रंगमञ्चमार्फत स्थानियता र मौलिकता प्रबद्र्धन गर्ने ध्येय सहित हुँदै आएको छ जेसुम यात्रा । हाइकिङ गर्दै स्थानिय सम्पदा र संस्कृति अवलोकन गर्ने र तिनको प्रभावलाई सिर्जनामा उतार्ने यो अभियानको एघारौं श्रृंखला काठमाडौंको सांस्कृतिक शहर टोखामा सम्पन्न भएको छ ।
लिच्चविकाल भन्दा पनि पुरानो मानिने यो शहरको माथिल्लो लाक्षीमा एउटा फराकिलो चोक छ । यहीँ लिच्छविकालदेखि भगवानहरुको नाच निकालिने डबली छ, जसलाई भनिन्छ– या प्याँख । पुर्वतिर लिच्छविकालमै बनाइएको गाःहिटी (भुँइमा खनेर बनाइएको धारा) छ ।
कुनै समय उपत्यकामा अनिकाल पर्दा टोखाबासीले यही धारा पुरिने गरि अन्नदान गरेका थिए भन्ने किम्बदन्ती छ । यही चोककै पुर्वोत्तर भागमा बिसं ५१९ मा लेखिएको शिलालेख खडा छ । यही ऐतिहासिक शहरमा शनिबार जेसुम अभियानका साथ चित्रकार र कविहरु पुरानो समय, सम्पदा र संस्कृति खोज्न निस्किएका हुन् ।
खुट्टाको विरामी भएपनि सबैभन्दा तंग्रिएर यात्रा गर्नेमा परिन्, प्राज्ञ लक्ष्मी माली । चिसो हुस्सुमा पनि उनी असिन पसिन देखिन्थिन् । नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा तथा साहित्य विभाग प्रमुख समेत रहेकी प्राज्ञ मालीले आफ्नो मौलिकता सहितको विकासमा जोड दिँदै सुनाइन्– ‘सम्बृद्धि संभव छ ।’
विहानको हुस्सु र चिसोलाई छिचौल्दै आइपुगेका स्रष्टाहरुले न्हुज पुस्तकालयबाट टोखाको सांस्कृतिक यात्रा थालेका थिए । पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ‘पंचायतकालमै खुलेको पुस्तकालय कुनै समय नेताहरु भुमिगत थलो रहेको’ बताउँदै परिवर्तनप्रतिको ध्येय झल्काउन उतिबेला न्हुज (नयाँ किरण) राखिएको बताए ।
यसपछि टोलीलाई स्थानियबासीले मतिना भ्वाय छें (भोजघर)मा नेवारी टिका र सुगनले स्वागत गरेका थिए । भिमसेन देउताको प्रतीक मानिने ध्वजाबाट निर्मित माला र रातो टिका लाएपछि सालको पातको दुनामा अण्डा र माछासहितको नेवारी पम्परागत सगुन ग्रहण गरिरहँदा स्रष्टाहरु रमाएमा थिए ।
टोखा नगरपालिकाको सहकार्य रहेको यात्रामा स्थानिय संस्कृतिविद सत्यनारायण डंगोल र गणेशमान श्रेष्ठ तथा स्थानिय सुविन्द्र श्रेष्ठले विभिन्न ऐतिहासिक तथ्यहरुबारे जानकारी दिएका थिए ।
टोलीले लिच्छविकालमै निर्मित तलेजु भवानी, चण्डेश्वरी, सपन तिर्थ मन्दिर, विस्केट जात्राको लिंगो ठड्याउने थलो, नाशा द्यौ लगायतका सम्पदा क्षेत्र भ्रमण गरेर चित्र र कविता कोरे ।
दिउँसो मतिना भ्वाय छें (भोजघर)मै नेवारी परम्परागत भोजनपछि न्हुज पुस्तकालयकै सभाहलमा प्राज्ञ लक्ष्मी माली, सुलोचना मानन्धर, स्नेह सायमी, अनिता लामा, अजितमान तामाङ, फूलमान वल, विना थिङ, रामगोपाल आशुतोष, रोजिता बुद्धाचार्य, रमेश कँडेल, लक्ष्मी रुम्बा, ममता थापा, श्याम संकल्प, गणेश बुढा, प्रभात सापकोटा, भरत गौतम, दिपेन्द्र श्रेष्ठ लगायतले टोकाको सांस्कृतिक र ऐतिहासिक सौन्दर्य र सन्दर्भ समेटिएको कविता सुनाएका थिए ।
पुर्व प्राज्ञ समेत रहेकी कवि सुलोचनाले ‘मेरो कविता’ शिर्षकको रचना सुनाएकी थिइन भने कवि रामगोपाल आशुतोषले ‘चराको घर’ शिर्षकको कविता । विकास नाममा प्रकृतिको नियम विपरितका संरचनाहरु ठडिँदै गइरहेको बेला त्यसको जैविक र प्राकृतिक असरलाई चराको माध्यमबाट उनले मार्मिक चित्रण गरेका थिए । यसपछि सगरमाथा आरोही समेत रहेकी कवि एवं रंगकर्मी रोजिता महर्जनले ‘सम्झनामा बाछिटाहरू’ शिर्षकको कवितामा शहरकै विग्रँदो मौलिक सम्पदाप्रति चिन्ता जनाइन् ।
ममता थापाले जेसुमका स्रष्टाहरुसँग यात्रा गर्दाको अनुभुतिलाई निबन्धात्मक रुपमा लेखेर सुनाउँदा बौद्ध संस्कृतिविद एवं लेखक अजितमान तामाङले नेवार भाषामा आसुकविता सुनाए । जेसुम संयोजक तथा कवि अनिता लामाले ‘प्रिय टोखा’ शिर्षकमा मौलिक सांस्कृतिक पहिचानको वकालत गरिन् । श्याम संकल्पले ‘टोखा’कै सांस्कृतिकता माथि कविता सुनाए भने लक्ष्मी रुम्बाले ‘टोखालय’ शिर्षकमा संस्कृति र जनजीवनको सवाललाई जोडे ।
विना थिङले आफूलाई मैंच्याङको रुपमा प्रस्तुत गर्दै टोखाकी मैंचालाई शहर र सम्पदा जोगाउने आग्रह गरिन् । कवि गणेश बुढाले ‘बस कहिल्यै नहराओस विस्क्या जात्रा’ भन्दै विस्केट जात्राको ऐतिहासिकतालाई सिर्जनामा उतार्दा प्रभात सापकोटाले नेवारी र तामाङ भाषामा गीत र कविताका केही टुक्रा जोडे ।
खुट्टाको विरामी भएपनि सबैभन्दा तंग्रिएर यात्रा गर्नेमा परिन्, प्राज्ञ लक्ष्मी माली । चिसो हुस्सुमा पनि उनी असिन पसिन देखिन्थिन् । नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा तथा साहित्य विभाग प्रमुख समेत रहेकी प्राज्ञ मालीले आफ्नो मौलिकता सहितको विकासमा जोड दिँदै सुनाइन्– ‘सम्बृद्धि संभव छ ।’
टोखा पुगेपछि सार्है नोस्टाल्जिक भए कवि स्नेह सायमी । राजधानीकै कै अर्को सांस्कृतिक सहर किर्तिपुर पुख्र्यौली भएका नैकापबासी यिनी साहित्यमा सांस्कृतिक पहिचानको पनि उत्तिकै वकालत गर्दै आइरहेका छन् । उनले टोखामा रहेको ऐतिहासिक न्हुज पुस्तकालयलाई सम्बोधन गर्दै हजुरआमा सम्झे, अनि कविता लेखे– ‘न्हुज ः मेरो अजिको सपना ।’
कविताको यस्तै माहौलबिच स्थानिय स्रष्टा भरत गौतम जुरुक्क उठे र भने, ‘मलाई पनि कविता चढ्यो ।’ यसपछि उनले ‘टोखा तिमी राम्री छ्यौ त के भयो ?’ शिर्षकको कवितामा मुलुक राजनीति र राष्ट्रियताको मुद्धा जोडे । यसपछि यतिञ्जेल भलादमी देखिएका न्हुज पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई पनि कविता चढ्यो । उनले ‘प्रिय छिमेकी’ शिर्षकमा सीमानाका मुद्धा उठाउँदा हलमा तालीको गडगडाहट गुन्जियो ।
कविता गोष्ठीसँगै चित्रकार दिपेन्द्र बनेपाली, डिबी किराँत, भीम सुब्बा तामाङ (बाबु साँइला), विनिता बुद्धाचार्य, कान्छाकाजी भासिमा, बिक्रम प्रजापति, प्रकाश मानन्धर, विनोद गुप्ता लगायतका चित्रकारहरुले टोखामाथि सिर्जिएका चित्रकला प्रदर्शनी गरे । पहिलोपटक आफ्नो थलोमा साहित्यकार र चित्रकारहरुले यात्रा गरेकोप्रति खुशी हुँदै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानिमाया डंगोलले टोखालाई सांस्कृतिक नगर बनाउने योजनामा आफूहरु लागि परेको खुलाए । जेसुम यात्राकी संयोजक अनिता लामाले बाहिरी सांस्कृतिक प्रभाव बढ्दै गइरहेको बेला आफूहरु साहित्य, कला र रंगमञ्चमार्फत स्थानियपनको खोजीमा लागिपरेको बताइन् ।