नमोबुद्ध संवाददाता

खानीखोला–काभ्रेको डाँडापारी क्षेत्र अन्तर्गत खोनीखोला गाउँपालिकामा पालिकास्तरीय सहकारी समन्वय समिति गठन गरिएको छ ।

जिल्लाका १३ वटै स्थानीय तहहरुमा स्थानिय सरकारसँगको सहकार्यमा सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र सचेतना अभिबृद्धि गर्ने जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको उद्धेश्यअनुसार मंगलबार औपचारीक समारोहका बिच यहाँ सहकारी समन्वय समिति गठन गरिएको हो ।

स्थानिय सहकारीकर्मीहरुको भेलाले सुर्यमूखी सहकारीका अध्यक्ष गोपाल प्रसाद तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय सहकारी समन्वय समिति समेत गठन गरिएकोमा समितिको सह–संयोजकमा अम्बिका रिजाल, सचिवमा द्रोण तिमल्सिना, र सदस्यहरुमा दुर्गा बहादुर लुंगेली, टेक बहादुर थिङ, भक्तकुमारी तिमल्सिना र राजकुमार आचार्यलाई चयन गरिएको छ ।

भेलामा खानीखोला गाउँपालिकामा रहेका ७ वटै वडाहरुबाट प्रतिनिधित्वगत रुपमा ३८ जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

‘सहकारीप्रति सकारात्मक दृष्टि’ 

भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण खुलालले स्थानियहरुको जीवन स्तर उकास्न सहकारी समन्वय समितिले पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । आर्थिक समृद्धिको जग बसाल्ने क्रममा स्थानिय रुपमा रहेका सहकारहरु सारथीको रुपमा क्रियाशिल हुनुपर्ने उहाँको धारणा छ ।

पालिकाले स्थानिय सहकारी संस्थाहरुको प्रवद्र्धन र विकासका लागि सकारात्मक दृष्टि राखेको उल्लेख गर्दै उहाँले प्रत्येक आर्थिक बर्षमा बजेट समेत विनियोजन गर्दै आएकोमा यस आर्थिक बर्षमा मात्रै रु.१० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

अध्यक्ष खुलालले सहकारी स्थानिय स्रोत र साधनलाई चिन्ने,जनचाहना आवश्यकताको आधारमा चल्ने भएकोले एउटै प्रकृतिका सहकारी संस्थाहरु मात्रै हुन नहुनेमा जोड दिनुभयो ।

यसक्रममा सबै प्रकृतिका सहकारी बचत तथा ऋण, महिला, कफि, कृषि तथा ऊर्जा सहकारीबाट प्रतिनिधित्व हुनेगरी सबै वडा तहहरुबाट जान जिल्ला सहकारी संघले सहजिकरण गर्ने जिल्ला सचिव दिलिप शर्माले प्रतिवद्धता जनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !