नमोबुद्ध संवाददाता
काठमाडौं–पृथ्वीनारायण शाहले खेलेको राज्य एकिकरणको भुमिकालाई आ–आफ्नै ढंगले बुझ्ने गरिन्छ । भावनात्मक रुपमा नभई भौतिक एवम् राजनीतिक रुपमा मात्र राज्य एकिकरण गरी दमन गर्ने काम मात्रै भएको भन्दै अझै नेपालका केहि उत्पीडित आदिवासी जनजाती लगायतले पुष २७ लाई कालो दिनको रुपमा सम्झन्छन् ।
आधुनिक नेपाल निर्मार्णको जस स्वरुप तिनै गोरखाका राजा शाहको जन्म दिनलाई नै पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवसको रुपमा मनाईन्थ्यो । गणतन्त्र आएलगत्तै राजकिय रुपमा मनाईन छोडेको यो दिवस पुनः मनाउने परिवेश बन्न थालेको छ ।
यस सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएका छन् ।
पुस २५ देखि २७ गते तिन दिनसम्म २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएका हुन् ।
संयुक्त मूल तयारी समितिका संयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति एवम् उपकुलपति डा. जगमान गुरुङको अध्यक्षतामा हालै बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्यायका अनुसार पुस २५ गते प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सभा हलमा ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भू–राजनीति’ विषयक विचार गोष्ठी आयोजना हुनेछ । उक्त गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्नेछ ।
२६ गते नक्सालमा कला प्रदर्शनी हुनेछ । ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्ने उक्त कला प्रदर्शनीमा विभिन्न कलाकारका कला प्रदर्शनी गरिनेछन् ।
यसै गरी पुस २७ गते बिहान १० बजेदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यान्ड बाजा, पञ्चे बाजा र बग्गीसहितको टोली र सांस्कृतिक संस्थानको संयोजनमा संयुक्त विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको शोभा यात्रा सिंहदरबार पश्चिममा रहेको पृथ्वीनारायण शाहको सालिकमा पुग्नेछ ।
सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यर्पण गर्नुहुनेछ । त्यसपश्चात् शोभा यात्रा प्रज्ञा भवन पुगी सभामा परिणत हुनेछ ।
सोही अपरान्ह सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा भवनमा ‘सारङ्गीमा देश’ शीर्षकमा वाद्यवादन धुन प्रस्तुत गर्नेछ भने सोही साँझ सांस्कृतिक संस्थानद्वारा नाचघरमा ‘सांस्कृतिक उत्सव’ आयोजना गरिनेछ ।
तयारी बैठकमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनशेराज पन्त, प्रा.डा. उषा ठाकुर, लक्ष्मी माली, सांस्कृतिक संस्थानका निमित्त महाप्रवन्धक प्रभाकरदेव शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् सञ्चार संयोजक शशी लुमुम्बू, प्रशासन प्रमुख सुमन अधिकारी र योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमको उपस्थिति रहेको थियो ।