-
नमोबुद्ध संवाददाता
काठमाडौं–फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को नयाँ रिलिज डेट तय भएको छ । फिल्म आउँदो फागुन ३० गते मुलुकभर रिलिज गर्ने तय भएको निर्देशक वलले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईका कारण फागुनमा सरेको हो ।
भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ(हैट), पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, सन्तोष लामा,विजय लामा लगायतको अभिनय छ ।
फिल्ममा अभिनेत्री रेखा विशेष भुमिकामा हुनुहुन्छ भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लाग्नुभएका वाइबा सेलो थिएटरकी संस्थापक हुनुहुन्छ ।
मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे…’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चित बाल गायिका जिग्मे छ्योइकी घिसिङ फिल्ममा दयाहाङको छोरीको रुपमा देखिदै हुनुहुन्छ ।
फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेख्नुभएको हो भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि हुनुहुन्छ ।
निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति समेत फिल्ममा पस्किएको छ ।
फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उहाँले जनाउनुभयो । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुनुहुन्छ ।
निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत हुनुहुन्छ । प्रमोद कार्कीको छायांकन रहेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ ।
निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म नीरफूल देशभरका हलहरुमा वितरणको जिम्मेवारी गोविन्द शाही र मनोज राठीले लिनुभएको छ ।